घरेलु हिंसा पिडितालाई इन्सेकको सहयोगः न्याय सम्पादन गराउनमा पहुँचका लागि १० हजार रुपैयाँ प्रदान

रौतहट, ११ चैत । घरेलु हिंसाबाट पीडिता एक महिलालाई न्यायिक प्रक्रियालाई सहज बनाउन इन्सेक मधेश प्रदेश कार्यालयले आर्थिक सहयोग प्रदान गरेको छ ।
रौतहटको फतुवा विजयपुर नगरपालिका–६ की २८ वर्षीया महिलालाई अदालत सम्म पुग्नमा मुद्दा पुग्न तथा न्याय लड्नमा आर्थिक अभाव हुन नदिन इन्सेकले १० हजार रुपैयाँ सहयोग उपलब्ध गराएको हो ।
पीडित महिलाले आफ्नै ३० बर्षीय श्रीमान् उमाशंकर कुशवाह विरुद्ध ज्यान मार्ने उद्देश्यबाट कुटपिट तथा वैवाहिक बलात्कारको आरोप लगाउँदै गत असोज ५ गते जिल्ला अदालत गौरमा मुद्दा दर्ता गराएकी थिइन् । उक्त मुद्दा हाल विचाराधीन अवस्थामा रहेको छ ।
न्यायिक प्रक्रियामा सहभागी हुन पटक–पटक अदालत धाउनुपर्ने भए पनि आर्थिक कठिनाइका कारण समस्या भइरहेको भन्दै जिल्ला प्रहरी कार्यालय रौतहट अन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र गरुडाकी प्रमुख दीपिका ओझाको सिफारिसमा इन्सेक रौतहटमा निवेदन परेको थियो । सोही निवेदनका आधारमा इन्सेक मधेश प्रदेश कार्यालयले मानव अधिकार सहायता कक्ष मार्फत सहयोग प्रदान गरेको इन्सेकका प्रदेश संयोजक राजु पासवानले जानकारी दिए ।
इन्सेक रौतहटकी प्रतिनिधि गौरी न्युपानेका अनुसार आर्थिक अभावका कारण कुनै पनि पीडित न्यायबाट वञ्चित नहोस् भन्ने उद्देश्यबाट यस्ता सहयोग कार्यक्रम सञ्चालन गर्दै आइएको छ ।