श्रीमतीको खुट्टा काटेको आरोपमा श्रीमान पक्राउ

वीरगंज/आफ्नै श्रीमतीमाथि अमानवीय आक्रमण गरी गम्भीर घाइते बनाएको आरोपमा एक जनालाई प्रहरीलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार पर्सागढी नगरपालिका-३ बिर्खा टोल निवासी करिब ३० वर्षीय विष्णनाथ सहनीले घरेलु विवादका क्रममा आफ्नी २५ वर्षीया श्रीमती हरिकला देवी सहनीमाथि धारिलो हतियार (दाउ) प्रयोग गरी आक्रमण गरेका थिए। आक्रमणबाट श्रीमतीको बायाँ खुट्टा काटिएको र अवस्था गम्भीर बनेको प्रहरीले जनाएको छ।

घटनापछि फरार रहेका सहनीलाई प्रहरीको विशेष टोलीले खोजी गर्दै सोही क्षेत्रबाट नियन्त्रणमा लिएको हो। घाइते महिलालाई तत्काल उद्धार गरी उपचारका लागि एल.एस. न्युरो एण्ड जनरल अस्पताल, परवानीपुर पठाइएको प्रहरीले जानकारी दिएको छ।

घटनाबारे प्रारम्भिक अनुसन्धान जारी रहेको र पक्राउ परेका सहनीमाथि ज्यान मार्ने उद्योग तथा कुटपिटसम्बन्धी कसुरमा थप अनुसन्धान अघि बढाइएको नेपाल प्रहरी ले जनाएको छ।