
मनसुनअघि नै विपद् तयारी तीव्र बनाउन गृहमन्त्रीको निर्देशन
काठमाडौं,१५ चैत । आगामी मनसुनलाई ध्यानमा राख्दै विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको तयारी तत्काल सुरु गर्न गृहमन्त्रीले निर्देशन दिएका छन्।
गृहमन्त्री सुधन गुरुङ र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सीईओ दिनेश भट्टबीच आइतबार प्राधिकरणको कार्यालयमा छलफल भएको हो।
छलफलका क्रममा गृहमन्त्री गुरुङले मनसुन अगाडि नै सम्भावित विपद् रोकथाम र व्यवस्थापनका लागि तयारी प्रभावकारी बनाउन निर्देशन दिएका हुन्। उनले आफू लामो समयदेखि विपद् व्यवस्थापनसँग जोडिएको अनुभवका आधारमा यसपटक पूर्वतयारीलाई प्राथमिकतामा राखिएको बताए।
सीईओ भट्टले गृहमन्त्रीको समयमै आएको चासोले विपद् व्यवस्थापन कार्यमा सहजता मिल्ने प्रतिक्रिया दिएका छन्। उनले तयारी नियमित प्रक्रिया भए पनि यसपटक समन्वय अझ प्रभावकारी हुने बताए।