
एसईई उत्तर पुस्तिका पहिलो दिन देखि परीक्षण सुरु
रौतहट, १९ चैत । माध्यमिक शिक्षा परीक्षा (एसईई) को उत्तरपुस्तिका परीक्षण बिहीबार देखि रौतहट सहित देशभरी औपचारिक रूपमा सुरु भएको छ ।
राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गत परीक्षाका अनुसार पहिलो दिनको परीक्षा सकिए लगत्तै देशभरका विभिन्न केन्द्रहरूमा जाँच प्रक्रिया अघि बढाइएको हो ।
आज बिहान ८ बजे देखि ११ बजे सम्म सञ्चालन भएको पहिलो दिनको अंग्रेजी विषयको परीक्षा शान्तिपूर्ण रूपमा सम्पन्न भएको थियो । परीक्षा समाप्त भएसँगै देशभरी उत्तरपुस्तिकाको परीक्षण सुरु भइसकेका छन् ।
परीक्षा सम्पन्न भएको तीन दिनभित्र उत्तरपुस्तिका परीक्षण सक्ने लक्ष्य राखिएको छ । जाँच प्रक्रिया छिटो र व्यवस्थित बनाउन विशेष रोस्टर प्रणाली लागु गरिएको राष्ट्रिय परीक्षा बोर्डले जनाए ।
निष्पक्षता कायम राख्न एउटै विद्यालयका शिक्षकले आफ्नै विद्यार्थीको उत्तरपुस्तिका जाँच गर्न नपाउने व्यवस्था गरिएको छ । एक विद्यालयका शिक्षकले अर्को विद्यालयका विद्यार्थीको कपी जाँच गर्ने गरी केन्द्राध्यक्षको नेतृत्वमा परीक्षण कार्य सञ्चालन भइरहेको छ ।
उत्तरपुस्तिका परीक्षण सम्पन्न भएपछि करिब एक महिना भित्र नतिजा सार्वजनिक गर्ने तयारी रहेको बोर्डले जनाए । यस वर्षको एसईईलाई छिटो, पारदर्शी र विश्वसनीय बनाउनेतर्फ बोर्डले विशेष ध्यान दिएको जनाइएको छ ।