सशस्त्र प्रहरीका आईजीपी राजु अर्यालको बिदाइ, नारायणदत्त पौडेलको औपचारिक रुपमा आगमन

रौतहट, १८ वैशाख । सशस्त्र प्रहरी बल नेपालका अवकाशप्राप्त महानिरीक्षक राजु अर्याललाई फौजी परम्परा अनुसार शुक्रबार बिदाइ गरिएको छ ।
सशस्त्र प्रहरी प्रधान कार्यालय हल्चोकमा आयोजित विशेष समारोहमा नवनियुक्त महानिरीक्षक नारायणदत्त पौडेलले मायाको चिनो हस्तान्तरण गर्दै अर्याललाई औपचारिक रूपमा बिदाइ गरेको हो ।
विदाई समारोहमा अर्यालले नयाँ आईजीपी पौडेललाई संगठन प्रमुखको छडी तथा सशस्त्र प्रहरीको झन्डा हस्तान्तरण गर्दै नेतृत्व सुम्पिए । साथै संगठनको सम्पूर्ण जिम्मेवारीको बरबुझारथ गर्दै औपचारिक रूपमा कार्यभार हस्तान्तरण गरिएको बताइएको छ ।
बिदाइ मन्तव्य दिदै अर्यालले नागरिक सुरक्षाको जिम्मेवारी बोकेको संगठनको सर्वोच्च पदमा पुग्नु र सफलता पूर्वक अवकाश हुनु जीवनकै महत्वपूर्ण उपलब्धि भएको बताए । उनले सशस्त्र प्रहरी संगठनलाई परिवारसरह मानेर अनुशासन, त्याग, इमान्दारिता र नेतृत्वका मूल्यहरू सिक्ने अवसर पाएको अनुभवलाई साझा गरे ।
संगठन सुधार कुनै एक कार्यकालमा सीमित नहुने, निरन्तर चलिरहने प्रक्रिया भएकाले आगामी नेतृत्वले त्यसलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गरे । उनले आफ्नो कार्यकालमा साथ, सहयोग र समर्पण गर्ने सम्पूर्ण राष्ट्रसेवक कर्मचारीप्रति आभार व्यक्त गरे ।
नवनियुक्त आईजीपी पौडेलले राष्ट्रको सुरक्षामा समर्पित जीवन कहिल्यै अवकाश नहुने उल्लेख गर्दै यो एक अध्यायको समाप्ति मात्रै हो र अर्को जिम्मेवारीपूर्ण यात्राको सुरुवात भएको बताए । उनले पूर्व आईजीपी अर्यालको अनुभव, मार्गदर्शन र दृष्टिकोण आगामी दिनमा पनि संगठनका लागि मार्गनिर्देशक बन्ने विश्वास व्यक्त गरे।