१३७ औं मजदुर दिवस चन्द्रनिगाहपुरमा भव्य रुपमा मनाउदै यातायात मजदुरहरुद्वारा शक्ति प्रदर्शन

चन्द्रनिगहपुर (रौतहट), १८ वैशाख । मे १ अर्थात अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा रौतहटको चन्द्रनिगाहपुरमा विभिन्न यातायात मजदुर संगठनहरूले भव्य रूपमा १३७ औं मजदुर दिवस मनाएका छन् ।
पूर्व–पश्चिम राजमार्ग केन्द्रित कार्यक्रम अन्तर्गत नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, नेपाल यातायात मजदुर संगठन, नेपाल यातायात मजदुर संघ लगायतका विभिन्न संघ–संगठनहरूको सक्रिय सहभागितामा मजदुर दिवस मनाइएका हुन् ।
मजदुरहरूले रयाली, सभा तथा विभिन्न जनचेतनामूलक कार्यक्रम मार्फत श्रमिक अधिकार, सामाजिक सुरक्षा, न्यूनतम पारिश्रमिक तथा श्रम सम्मानको माग जोडदार रूपमा उठाएका थिए । कार्यक्रममा सहभागीहरूले श्रमिकको हकहित सुनिश्चित गर्न राज्यले अझ प्रभावकारी नीति तथा कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।
चन्द्रनिगाहपुर बजार क्षेत्र हुँदै गरिएको रयालीले पूर्व–पश्चिम राजमार्गमा उल्लेखनीय उपस्थिति देखाउँदै मजदुर एकता र शक्तिको प्रदर्शन गरे ।
मजदुर दिवसका अवसरमा आयोजित कार्यक्रमले श्रमिक वर्गको योगदानको कदर गर्दै उनीहरूको अधिकार सुनिश्चित गर्न सबै पक्ष गम्भीर हुनुपर्ने सन्देश प्रवाह गरेको आयोजकहरूले जनाए