वारा स्थित भारतीय सीमामा दुई जना हुण्डी कारोवारी करिव १२ लाख रुपैया सहित एसएसबीको फन्दामा

बारा, १८ वैशाख । बारा जिल्लाको नेपाल–भारत सीमामा हुण्डी कारोबार विरुद्ध एसएसबीको विशेष अप्रेशनमा लाखौं रकम सहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।
बाराको कचोरवा नाका हुँदै भारततर्फ नगद लैजाँदै गरेका उनीहरूलाई एसएसबीको झरौखर चेकपोस्टमा बिहीबार साँझ नियन्त्रणमा लिएको ।
एसएसबी र स्थानीय थानाको नियमित चेकजाँचका क्रममा भारतीय नागरिक नरेश कुमार गुप्ता र नेपाली नागरिक जैलाल साह तेलीको साथमा रहेको ब्याग चेकजाँच गर्दा झण्डै १२ लाख नगद फेला परेपछि दुबै जनालाई नियन्त्रणमा लिएको एसएसबीले जनाए ।
एसएसबी मुख्यालय पिपराकोठीका सहायक कमान्डेन्ट बिश्वजित तिवारीका अनुसार गुप्ताको साथबाट ९ लाख ६३ हजार ६५० नेपाली रुपैया र ७१ हजार ४१० भारतीय रुपैया बरामद गरिएको छ । यस्तै, तेलीको साथबाट १ लाख १० हजार नेपाली गरेर ११ लाख ९० हजारको कुनै श्रोत नखुल्दा हुण्डीको कारोवारमा प्रयोग भएको रकम हुन सक्ने आशंका एसएसबीले गरे ।
घटनापछि एसएसबी ७१ औं बटालियन अठमुहान कम्पनी तथा जितना प्रहरी चौकीको टोली उत्तर रकम सहित नियन्त्रणमा लिएको व्यक्तिलाई आवश्यक अनुसन्धान एवं कारवाहीका लागि जितना प्रहरीको जिम्मा लगाइएको तिवारीले बताए ।
भारतीय प्रहरीको प्रारम्भिक अनुसन्धानमा सीमावर्ती क्षेत्रमा अवैध हुण्डी कारोबार अझै सक्रिय रहेको आशंका गर्दै एसएसबीले यस्ता गतिविधिविरुद्ध निगरानी राखेको बताइएको छ ।
स्मरण रहोस, सीमामा बारम्बार यस्ता घटनाहरु सार्वजनिक हुनु सुरक्षा संयन्त्रकै कमजोरीको संकेत गरेको छ । सानो नाकाबाट ठूलो रकम ओसारपसार हुनु गम्भीर विषय हो, जसले न केवल अर्थतन्त्रलाई असर गर्छ, यसले अपराध सञ्जाललाई बलियो बनाउदै गएको पनि देखाउँछ ।