
दक्षिण एसियामा भीषण गर्मीको चेतावनीः तराईमा तापक्रम ४१ डिग्री सम्म पुग्ने अनुमान
रौतहट, ११ जेठ । आउदो सात दिनसम्म दक्षिण एसियाभर तीव्र गर्मी कायम रहने अनुमान गरिएको छ ।
यसको प्रत्यक्ष प्रभाव नेपालका तराई क्षेत्रमा समेत पर्ने भएकाले अत्यधिक तातो हावा र बढ्दो तापक्रमका कारण जनजीवन प्रभावित हुने सम्भावना रहेको मौसमविद्हरूले बताएको हो ।
अनुमान अनुसार तराईका जिल्लाहरूमा तापक्रम ३८ देखि ४१ डिग्री सेल्सियस सम्म पुग्न सक्नेछ । अत्यधिक गर्मीसँगै तातो हावा चल्ने सम्भावना रहेकाले बालबालिका, ज्येष्ठ नागरिक तथा दीर्घरोगीहरूलाई विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ ।
विशेषज्ञहरूले दिउँसोको समयमा अनावश्यक रूपमा घरबाहिर ननिस्कन, प्रशस्त पानी पिउन, हल्का तथा सूती कपडा लगाउन र घामबाट जोगिने उपाय अपनाउन सुझाव दिए । लामो समय सम्म घाममा बस्दा स्वास्थ्यमा नकारात्मक असर पर्न सक्ने भएकाले सावधानी अपनाउन अनुरोध गरिएको छ ।
तराई–मधेश क्षेत्रमा केही दिनयता निरन्तर बढ्दो गर्मीका कारण दैनिक जनजीवन, बजार, यातायात तथा श्रम क्षेत्रमा समेत प्रभाव देखिन थालेको छ । स्वास्थ्यकर्मीहरूले गर्मीजन्य रोगबाट बच्न सतर्क रहन सर्वसाधारणलाई आग्रह गरेका छन् ।