आइतबार विद्यालय खोल्ने चन्द्रपुर नपाको निर्णय विरुद्ध शिक्षकहरू आक्रोशित, नगरपालिकामा ज्ञापनपत्र

रौतहट, ११ जेठ । रौतहटको चन्द्रपुर नगरपालिकाले साविककै व्यवस्था अनुसार आइतबार पनि विद्यालय सञ्चालन गर्ने निर्णय गरेपछि स्थानीय शिक्षकहरूले गम्भीर आपत्ति जनाउदै नगरपालिकामा ज्ञापन पत्र बुझाएका छन् ।
संघीय सरकार र स्थानीय तहको निर्णय बाझिँदा शैक्षिक क्षेत्रमा अन्योल सिर्जना भएको भन्दै सुबलाल भागवत माध्यमिक विद्यालयका शिक्षकहरूले नगर कार्यपालिकाको कार्यालयलाई ज्ञापनपत्र बुझाएका हुन् ।
संघीय सरकारको मन्त्रीस्तरीय निर्णय अनुसार शैक्षिक सत्र २०८३ देखि देशभरका सामुदायिक तथा संस्थागत विद्यालयमा हप्ताको दुई दिन शनिबार–आइतबार बिदा दिने व्यवस्था गरिएको थियो । सोही निर्णय कार्यान्वयनका लागि शिक्षा तथा मानव स्रोत विकास केन्द्रले समेत परिपत्र जारी गरिसकेको छ ।
तर चन्द्रपुर नगरपालिकाले गत जेठ ४ गते सूचना जारी गर्दै पुरानै व्यवस्था कायम राखी आइतबार पनि विद्यालय सञ्चालन गर्न निर्देशन दिएपछि शिक्षकहरू असन्तुष्ट बनेको छ ।
शिक्षकहरू संघीय सरकारको निर्णय विपरीत स्थानीय तहबाट फरक निर्णय आउँदा विद्यालय प्रशासन, शिक्षक, विद्यार्थी तथा अभिभावक माझ अन्योल र असहज अवस्था सिर्जना भएको बताए । उनीहरूले शैक्षिक नीतिमा एकरूपता कायम गर्न तथा संघीय सरकारको निर्णय कार्यान्वयन गर्न नगरपालिकासँग माग गरे ।
ज्ञापनपत्र मार्फत शिक्षकहरूले शिक्षण सिकाइको वातावरणलाई थप व्यवस्थित बनाउन स्पष्ट नीति आवश्यक रहेको उल्लेख गर्दै विद्यार्थी तथा शिक्षकको हितलाई केन्द्रमा राखेर निर्णय लिन आग्रह गरेका छन् ।