जुमाबी गौरमा आज तेश्रो दिन आँखाको परिक्षण जारी, आज सम्म १४७८ विद्यार्थीको परीक्षण, १६८ मा दृष्टिदोष

रौतहट, १२ जेठ । रौतहट सदरमुकाम गौर स्थित श्री जुद्ध माध्यमिक विद्यालयमा मंगलवार तेश्रो दिन पनि विद्यार्थीहरुको आँखा परिक्षण कार्यक्रम जारी रहेका छन् ।
नेपाल नेत्र ज्योति संघद्वारा संचालित गौर आँखा अस्पताल पुरेनवाद्वारा सञ्चालन भइरहेको आँखा स्वास्थ्य महाअभियान अन्तर्गत अहिले सम्म १४७८ जना छात्रछात्राहरुले आँखाको परिक्षण गराएका हुन् ।

झण्डै दुई हजार भन्दा बढि विद्यार्थी अध्ययनरत रहेका जुमावी गौरका १४७८ जनाको आँखा परीक्षण गर्दा १६८ जना विद्यार्थीमा दृष्टिदोष भेटिदा चश्माको प्रयोग गर्न चिकित्सकले सुझाव दिए भने दुई जना बालिकामा मोतिबिन्दु रोग लागेको पहिचान गरिएको गौर आँखा अस्पतालले जनाए ।
अस्पतालका अनुसार ती बालिकाहरूलाई थप उपचारका लागि गौर आँखा अस्पतालमा ल्याइनेछ । साथै सेवा फाउण्डेसनको सहयोगमा आगामी शनिबार निःशुल्क चश्मा वितरण सहित थप उपचारको व्यवस्था गरिने जानकारी दिए ।

विद्यार्थीहरुको आँखा परिक्षण कार्यक्रममा गौर नगरपालिकाका नगर प्रमुख शम्भु साहको विशेष उपस्थितिमा २५ जना विद्यार्थीलाई निःशुल्क चश्मा वितरण गरियो । नगर प्रमुख साहले यही जेठ २३ गते शनिबार जुमावीमा वृहत् आँखा जाँच, उपचार, चश्मा वितरण, अपरेशन तथा जनचेतनामूलक महाअभियान सञ्चालन हुने जानकारी दिँदै गौरवासीहरु उत्साहपूर्वक उपस्थित भई अभियानको अधिकतम लाभ उठाउन नगरवासी संग आग्रह गरे ।

उक्त कार्यक्रम डाँक फाउण्डेशनको आर्थिक सहयोग, गौर नगरपालिकाको विशेष पहल तथा नेपाल नेत्र ज्योति संघ गौर आँखा अस्पतालको प्राविधिक सहकार्यमा सञ्चालन भइरहेको अस्पतालका कार्यक्रम संयोजक सत्येन्द्र पाण्डेयले जानकारी दिए ।