मदिराको लठमा रहेका युवकले बाटो हिडिरहेका अर्का युवकलाई धक्का दिँदा लडेर युवकको ज्यान गयो

रौतहट, १२ जेठ । रौतहटको चन्द्रपुर नगरपालिका–४ मा मदिरा सेवन गरी लठ भई मातिएका व्यक्तिले बाटो हिँडिरहेका अर्का युवकलाई धक्का दिँदा भूईमा लडेर मृत्यु भएको छ ।
घटनामा संलग्न रहेको आरोपमा रौतहट प्रहरीले एक जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको हो ।
मृत्यु हुनेमा चन्द्रपुर नगरपालिका–४ का ३० वर्षीय विष्णु सुवेदी रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाए । भूईमा लडेर अचेत भएका सुवेदीको उपचारको क्रममा गएराति मृत्यु भएको प्रहरी श्रोतबाट बुझिएको छ ।
प्रहरीका अनुसार बाराको निजगढ नगरपालिका–६ घर भई हाल चन्द्रनिगाहपुरमा डेरा गरी बस्दै आएका ३८ वर्षीय विमल मोक्तानले मदिरा सेवन गरेका अवस्थामा सडकमा हिँडिरहेका अर्का युवक सुवेदीलाई धक्का दिएका थिए ।
घटनाका बेला मोक्तान र उनकी श्रीमतीबीच सडकमै विवाद भइरहेको बताइएको छ । सोही क्रममा त्यहाँबाट हिँडिरहेका सुवेदीलाई मोक्तानले एक्कासी धकेलेपछि उनी सडकमा लडेर गम्भीर घाइते भएका थिए ।
सडकमा लडेपछि सुवेदी अचेत अवस्थामा पुगेका थिए । घटनापछि स्थानीयवासी तथा आफन्तले तत्कालै सुवेदीलाई चन्द्रनिगाहपुर स्थित रिसरेखा अस्पतालमा उपचारका लागि पुर्याएका थिए । अस्पतालमा प्रारम्भिक उपचारपछि चिकित्सकले थप उपचारका लागि अन्यत्र रेफर गर्न सुझाव दिए । तर आर्थिक अभावका कारण परिवारले उनलाई घरमै फर्काएको बताइएको छ ।
घर फर्काइएका सुवेदीको स्वास्थ्य अवस्था बिग्रिँदै गएको र गएराति करिब १२ बजेको समयमा मृत्यु भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाए । प्रहरीले आरोपित विमल मोक्तानलाई नियन्त्रणमा लिएर अनुसन्धान कार्य सुरु गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाए ।