
माण्डवीद्धारा रौतहटमा विपद् पूर्वतयारीबारे उच्चस्तरीय समीक्षा, १३ पालिका र सुरक्षा निकाय एकै मञ्चमा
बाढीपूर्व सूचना प्रणालीदेखि उद्धार तयारीसम्म छलफल, समुदायको सुरक्षा र क्षति न्यूनीकरणमा जोड
रौतहट, १६ असार । लालबकैया जलाधार क्षेत्रमा सम्भावित बाढी तथा अन्य प्राकृतिक विपद्को जोखिम न्यूनीकरणका लागि रौतहटका १३ स्थानीय तहका जनप्रतिनिधि, सुरक्षा निकाय तथा सरोकारवाला संस्थाहरूलाई एकै स्थानमा भेला गरेर विपद् पूर्वतयारी सम्बन्धी उच्चस्तरीय समीक्षा तथा प्रस्तुतीकरण कार्यक्रम सम्पन्न गरिएको छ ।
अष्ट्रेलिया सरकारको आर्थिक सहयोग र इसिमोड (ICIMOD) को प्राविधिक सहयोगमा माण्डवीले जिल्ला प्रशासन कार्यालय रौतहटको सभाहलमा मंगलबार आयोजना गरेको ’हाई ग्रिड प्रोग्रेस’ कार्यक्रममा हालसम्म सम्पन्न भएका गतिविधि, आगामी योजना तथा विपद् व्यवस्थापनका रणनीतिबारे विस्तृत प्रस्तुतीकरण गरिएको हो ।
माण्डवीकी कार्यकारी निर्देशक अञ्जु झाले १५ मिनेट लामो स्लाइड प्रस्तुतीकरण मार्फत विपद् आउनु अघि आवश्यक तयारी, बाढी तथा सुख्खाका कारण उत्पन्न हुने जोखिम, समुदायस्तरमा अपनाउनुपर्ने सावधानी तथा पूर्वसूचना प्रणालीको प्रभावकारिता बारे जानकारी गराइन् ।
उनले लालबकैया जलाधार क्षेत्रमा पर्ने रौतहटका १५ स्थानीय तहलाई लक्षित गरी बाढीबाट हुने जनधनको क्षति न्यूनीकरण, समुदायको क्षमता अभिवृद्धि तथा विपद् पछिको जीविकोपार्जन पुनःस्थापनाका लागि माण्डवीले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिइन् ।
कार्यक्रमको अध्यक्षता गरिराख्नु भएका जिल्ला विपद व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले विपद् जोखिम न्यूनीकरणमा माण्डवीले पुर्याएको योगदानका प्रशंसा गर्दै पूर्वसूचना प्रणालीको प्रभावकारी विकास सँगै समुदायमा सचेतना विस्तार गर्नु अहिलेको प्रमुख आवश्यकता रहेको बताए ।
उनले रौतहटमा बाढी, डुबान लगायत विभिन्न प्रकारका विपद्को जोखिमलाई मध्यनजर गर्दै उद्धार, राहत तथा विपद् व्यवस्थापनका लागि आवश्यक जनशक्ति, उपकरण र सुरक्षा संयन्त्र तयारी अवस्थामा राखिएको जानकारी दिए । सबै सरोकारवाला बीच समन्वय र सहकार्य भए जुनसुकै विपद्को सामना गर्न जिल्ला प्रशासन र सुरक्षा निकाय सक्षम रहेको उनको कथन थिए ।
कार्यक्रममा बौधीमाई नगरपालिकाका प्रमुख प्रदीप यादव, राजदेवी नगरपालिकाका प्रमुख भिखारी राय यादव, मौलापुर नगरपालिकाकी प्रमुख रिना कुमारी साह तथा इशनाथ र माधवनारायण नगरपालिकाका जनप्रतिनिधिले विपद् जोखिम न्यूनीकरणमा स्थानीय तहको भूमिका, पूर्वतयारी र समुदायको सहभागितालाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक सीताराम रिजाल, सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक रामहरी अधिकारी, राष्ट्रिय अनुसन्धान विभागका उपनिर्देशक कुमार बुढाथोकी, नेपाली सेनाका प्रतिनिधि, १३ स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत, सञ्चारकर्मी तथा विपद् व्यवस्थापन क्षेत्रमा कार्यरत विभिन्न निकायका प्रतिनिधिहरूको सहभागिता रहेको माण्डवीले जनाए ।
कार्यक्रममा विपद् आउनु अघि पूर्वतयारी, पूर्वसूचना प्रणालीको सुदृढीकरण, अन्तरनिकाय समन्वय र समुदायको सक्रिय सहभागिता मार्फत सम्भावित क्षति न्यूनीकरण गर्नुपर्नेमा सहभागीहरूले साझा प्रतिबद्धता व्यक्त गरेका थिए ।
