तीन दिन देशभर भारी वर्षाको चेतावनी, पहिरो–डुबान र हावाहुरीको उच्च जोखिम

रौतहट, १६ असार । देशभर मनसुनी गतिविधि सक्रिय बन्दै गएपछि आगामी तीन दिनसम्म विभिन्न स्थानमा भारी देखि धेरै भारी वर्षा, मेघगर्जन, चट्याङ तथा हावाहुरीको सम्भावना रहेका छन् ।
जल तथा मौसम विज्ञान विभागले विशेष सतर्कता अपनाउन आग्रह गर्दै आज, भोली र पर्सी सम्म तीनदिने जारी भएको बुलेटिनमा पहिरो, डुबान, बाढी र यातायात अवरुद्ध हुने जोखिम बढेकाले नागरिकलाई मौसमको अद्यावधिक सूचना पछ्याउन अनुरोध गरेका हुन् ।
महाशाखाका अनुसार आज देशभर अधिकांश स्थानमा आंशिकदेखि पूर्ण बदली रहनेछ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षा हुने सम्भावना छ भने कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ ।
आज राति पनि कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी देखि धेरै भारी वर्षा हुने सम्भावना छ । साथै, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्र तथा मधेस प्रदेशका केही स्थानमा हावाहुरी चल्न सक्ने विभागले जनाए ।
भोली बुधबार देशभर मौसम पूर्णतया बदली रहनेछ । पहाडी भू–भागका धेरै स्थानमा मध्यम वर्षा हुने तथा मधेस, कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । तराईका विभिन्न क्षेत्रमा हावाहुरी चल्न सक्ने चेतावनी पनि दिइएको छ ।
पर्सी बिहीबार पनि मौसम पूर्णतया बदली रहने अनुमान छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्र र मधेस प्रदेशका केही स्थानमा भारी वर्षा तथा हावाहुरीको जोखिम कायमै रहने महाशाखाले जनाए ।
विभागका अनुसार निरन्तरको वर्षाले विशेषगरी कोशी, गण्डकी, लुम्बिनी, सुदूरपश्चिम र मधेस प्रदेशका पहाडी क्षेत्रमा पहिरो, भू–क्षय र गेग्रान बहाव तथा तराई क्षेत्रमा डुबानको जोखिम बढ्ने सम्भावना छ । नदीनालामा पानीको सतह बढ्न सक्ने, सडक यातायात प्रभावित हुन सक्ने तथा दैनिक जनजीवनमा असर पर्ने भएकाले आवश्यक सतर्कता अपनाउन र आधिकारिक मौसम सूचनालाई नियमित रूपमा पछ्याउन विभागले आग्रह गरेको छ ।