रौतहट प्रहरीलाई डीआईजी अधिकारीको कडा निर्देशनः तस्करी नियन्त्रण देखि भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउन आदेश

रौतहट, १६ असार । मधेश प्रदेश प्रहरीको कार्यसम्पादनलाई थप प्रभावकारी, पारदर्शी र नागरिक मैत्री बनाउने उद्देश्य सहित प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) ओमप्रसाद अधिकारीले जिल्ला प्रहरी कार्यालय रौतहट, इलाका प्रहरी कार्यालय गरुडा तथा इप्रका चन्द्रपुरको निरीक्षण तथा अनुगमन गरेका छन् ।
मंगलवार निरीक्षण भ्रमणका क्रममा डीआईजी अधिकारीले जिल्ला तथा मातहत कार्यालयमा कार्यरत प्रहरी कर्मचारीलाई जिल्लाको शान्ति–सुरक्षा सुदृढीकरण, अपराध नियन्त्रण, चोरी–तस्करी नियन्त्रण, फरार प्रतिवादी पक्राउ, नागरिकमैत्री प्रहरी सेवा तथा प्रहरी आचरणलाई थप प्रभावकारी बनाउन आवश्यक निर्देशन दिएका हुन् ।
उनले प्रहरी संगठन भित्र भ्रष्टाचार प्रति शून्य सहनशीलताको नीति कडाइका साथ कार्यान्वयन गर्नुपर्नेमा विशेष जोड दिँदै कुनै पनि प्रकारको अनियमितता वा गैरव्यावसायिक गतिविधि स्वीकार्य नहुने चेतावनी दिए ।
सीमावर्ती क्षेत्रमा हुने चोरी–तस्करी नियन्त्रण, कानून कार्यान्वयनमा प्रभावकारिता, सेवाग्राही प्रति जिम्मेवार व्यवहार तथा प्रहरीको व्यावसायिक अनुशासन कायम राख्दै जनविश्वास अभिवृद्धि हुने गरी काम गर्न उनले निर्देशन दिए ।
डीआईजी अधिकारीले प्रहरी कर्मचारीलाई उच्च मनोबलका साथ कानुनको निष्पक्ष कार्यान्वयन गर्दै नागरिकको सुरक्षा र शान्ति कायम गर्न अझ जिम्मेवार र उत्तरदायी भएर कार्यसम्पादन गर्न आग्रह गरे ।