रौतहट प्रहरीको एक वर्षः १,१५२ मुद्दा दर्ता, ६१४ पक्राउ, ५ करोड भन्दा बढी राजस्व छलीका सामान बरामद

रौतहट, ३ साउन । जिल्ला प्रहरी कार्यालय रौतहटले आर्थिक वर्ष २०८२–०८३ मा अपराध नियन्त्रण, अनुसन्धान तथा कानुन कार्यान्वयनमा उल्लेखनीय सफलता हासिल गरेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय गौरमा आईतवार आयोजित पत्रकार सम्मेलनको माध्यमबाट वार्षिक प्रगति प्रतिवेदन सार्वजनिक गर्दै एसपी सीताराम रिजालले वर्षभरीमा १,१५२ वटा मुद्दा दर्ता हुँदा ६८० वटा फछ्र्यौट गरिएको छ भने ४७२ मुद्दा अनुसन्धानकै क्रममा रहेको बताए । सो अवधिमा ६१४ जनालाई पक्राउ गरिएको उनले जानकारी दिए ।

लागुऔषध नियन्त्रणतर्फ ३९ मुद्दा दर्ता भएकोमा ५१ जनालाई पक्राउ गरियो । यही अवधीमा ८८७ केजी २० ग्राम गाँजा, २५ ग्राम ४१० मिलिग्राम ब्राउनसुगर तथा २,२५६ एम्पुल र १३,३१९ ट्याब्लेट बरामद गरेको उनले भने ।

अदलालतको फैसला कार्यान्वयन अभियान अन्तर्गत ४४८ फरार प्रतिवादी पक्राउ गर्न सफल भएको बताउदै एसपी रिजालले पक्राउ परेकाहरुबाट ७६ वर्ष ११ महिना ११ दिन कैद तथा ६३ लाख ७१ हजार ५७४ जरिवाना असुल गरियो । अवैध हातहतियार तर्फ ६ थान हतियार र ११ राउण्ड गोली बरामद गर्दै ३ जनालाई पक्राउ गरिएको छ भने खोटा मुद्रासम्बन्धी ३ मुद्दामा ७ जना पक्राउ गरेर मुद्दा चलाईएको पत्रकार सम्मेलनमा एसपी रिजालले सार्वजनिक गरे ।

सवारी दुर्घटना तथा ट्राफिक कारबाहीतर्फः १,०८८ विभिन्न सवारी दुर्घटना हुँदा ५३ जनाको मृत्यु भएको र १,६६९ जना घाइते भएका थिए । ट्राफिक नियम उल्लंघन गर्ने १०,२५५ सवारी साधनलाई कारबाही गरेर १ करोड २ लाख ३७ हजार राजस्व संकलन गरिएको जनाए ।

यस्तै, भन्सार छलीमा १८ जनालाई पक्राउ गरेर ५५५ सवारी साधन नियन्त्रणमा लिएर ५ करोड १२ लाख ५५ हजार २२ राजस्व बराबरको सामान भन्सार कार्यालयमा दाखिला गरिएको उनले भने । विगतको आर्थिक बर्ष भन्दा यसपालीको लक्ष्य भन्दा ५.२४ प्रतिशत बढी रहेको उनले बताए ।

यसैगरी १३ लाख ६२ हजार २०० स्रोत नखुलेको रकम सहित ४ जनालाई पक्राउ गरियो ।

अवैध काठ, अवैध उत्खनन र अवैध मदिरा उत्पादन विरुद्ध पनि अभियान सञ्चालन गर्दै ठूलो परिमाणमा काठ बरामद गरिएको बताउदै उनले ३० वटा सवारी साधन नियन्त्रण लिएको, ५ अवैध मदिरा भट्टी नष्ट तथा विभिन्न उपकरण र सामग्री नष्ट गरेको जनाए ।

सामुदायिक प्रहरी साझेदारी तर्फ १५४ कार्यक्रम संचालन गरियो । सो पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालयबाट एक वर्षमा १ लाख ३३ हजार ७६४ सेवाग्राहीले विभिन्न प्रहरी सेवा प्राप्त गर्न सफल भए ।

पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै एसपी रिजालले सिमित जनशक्तिबाट पनि भ्याए सम्मको सेवा प्रवाह गर्न सफल भएको बताए । वार्षिक तथ्यांकले अपराध नियन्त्रण, राजस्व संकलन, फरार प्रतिवादी पक्राउ र सामुदायिक प्रहरी सेवामा उल्लेखनीय प्रगति भएकोमा खुशी व्यक्त गर्दै स्थानीय बासिन्दाहरु तथा विभिन्न सरोकारवाला निकायको सहयोगका कारण जनशक्ति अभावमा पनि राम्रो सेवा प्रवाह गरेको उनले बताए । सो पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी एवं डिएसपी बसन्त गौतम सहितका प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।