प्रहरीको गोली लागेर एक युवकको मृत्यु भएपछि सुनसरीको ५ बजार क्षेत्रमा अनिश्चितकालीन कर्फयु

सुनसरी, ११ साउन । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगन्जमा दुई समूहबीचको विवाद नियन्त्रणमा लिने क्रममा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएपछि स्थानीय प्रशासनले ५ वटा बजार क्षेत्रमा अनिश्चितकालीन कर्फयु आदेश जारी गरेको छ ।

साउने सोमबारको दिन बोलबम यात्राका लागि डिजे बजाउँदै हिँडेको हिन्दु समूह र अर्को पक्षबीच आइतबार मध्य राति झडप भएको थियो । स्थिति नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागेर देवानगञ्ज–३ का २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएपछि अवस्था तनावग्रस्त बनेपछि स्थानीय प्रशासनले कर्फयु आदेश जारी गरेको हो ।

झडप र प्रहरीको गोली लागेर अन्य ८ जना प्रदर्शनकारी घाइते भएका छन्, जसमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ ।

स्थिति थप तनावग्रस्त हुन नदिन सुनसरीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले सोमबार बिहान ७ बजेदेखि लागु हुने गरी अर्को सूचना जारी नभएसम्मका लागि दक्षिण क्षेत्रका पाँच बजारमा कर्फयु जारी गरे । कर्फयुका क्रममा सभा, जुलुस, भेला हुन र आवतजावत गर्न पूर्ण रोक लगाइएको छ ।

कुन–कुन क्षेत्रमा छ कर्फयु ?

स्थानीय प्रशासनले हरिनगर र देवानगञ्ज गाउँपालिका क्षेत्रभरी निषेधाज्ञा लागु गर्दै मुख्य पाँच बजार क्षेत्रको सीमा तोकेर कर्फयु लगाएको छ ।

–कप्तानगन्ज बजार क्षेत्रः पूर्वतर्फ यादव टोल, पश्चिमतर्फ पाँचौ सिमल मावि, उत्तरतर्फ कृष्ण मावि र दक्षिणतर्फ नेपाल–भारत सीमा क्षेत्र ।

–हरिनगरा बजार क्षेत्रः पूर्वतर्फ नूनिया टोल, पश्चिमतर्फ खुनिया धार, उत्तरतर्फ हरिनगर गाउँपालिका कार्यालय र दक्षिणतर्फ बसन्तपुर मोड ।

–भुटाहा बजार क्षेत्रः पूर्वतर्फ मोरीया धार खोला, पश्चिमतर्फ इदगाहा फिल्ड, उत्तरतर्फ सुनसरी खोला र दक्षिणतर्फ हरिनगर गाउँपालिका कार्यालय ।

–घुस्की बजार क्षेत्रः पूर्वतर्फ कासमिया मदरसा, पश्चिमतर्फ प्रहरी चौकी घुस्की, उत्तरतर्फ इशा हार्डवेयर र दक्षिणतर्फ हिलाल पब्लिक स्कुल ।

–देवानगञ्ज बजार क्षेत्रः पूर्वतर्फ विराटनगर जाने बाटोको मुसहर टोल, पश्चिमतर्फ मोरीया खोला, उत्तरतर्फ चिउरा मिल र दक्षिणतर्फ गाउँपालिकाको कार्यालय सीमा क्षेत्रमा कर्फयु लगाइएको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाए ।