भ्रामक फोटो–भिडियो नफैलाउन रौतहट प्रहरीको अनुरोधः अफवाह फैलाए कानुन बमोजिम कडा कारबाही हुने चेतावनी

एआई प्रविधिबाट तयारी पारिएको साँकेतिक तस्वीर ।
रौतहट, १४ साउन । सुनसरी घटनालाई अन्य स्थानमा भ्रामक रुपमा फैलाउन केही पुराना फोटो एवं भिडियोहरु समाजिक संजालमा पोष्ट एवं शेयर गरेर समाजमा अशान्ति मचाउन खोजिएका तत्वहरु विरुद्ध रौतहट प्रहरी कडा कारवाही गर्ने चेतावनी दिएका छन् ।
रौतहट प्रहरीले सामाजिक सञ्जालमा भ्रामक फोटो र भिडियो पोस्ट तथा शेयर नगर्न सर्वसाधारणलाई कडा रुपमा अनुरोध गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय रौतहटले विहिवार सार्वजनिक गरेको प्रेस विज्ञप्तिमा पछिल्लो समय सामाजिक सञ्जालमा फैलाइएका केही सामग्रीले जिल्लाको शान्ति, सुरक्षा र सामाजिक सद्भावमा नकारात्मक असर पार्ने अवस्था सिर्जना भएको हुँदा प्रहरीको गम्भीर ध्यानाकर्षण भएको छ ।
२०८२ साल भदौ २४ गतेको जेन–जी आन्दोलनका क्रममा खिचिएका पुराना फोटो तथा भिडियोहरूलाई हालै रौतहटमा भएको घटनासँग जोडेर सामाजिक सञ्जालमा भ्रामक रूपमा प्रचार–प्रसार गरिएको प्रति प्रहरी गम्भीर भई गहन छानविन सुरु गरेको जनाइएको छ ।
प्रहरीले कुनै पनि घटना वा विषयलाई तथ्य र प्रमाणबिना सामाजिक सञ्जालमा पोस्ट वा शेयर नगर्न आग्रह गर्दै यस्ता गतिविधि विद्युतीय कारोबार ऐन, २०६३ तथा मुलुकी अपराध संहिता, २०७४ विपरीत हुने स्पष्ट पारे ।
जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी एवं डिएसपी बसन्त गौतमले सामाजिक सद्भाव, शान्ति र सुरक्षामा असर पुग्ने गरी अफवाह फैलाउने वा भ्रामक सूचना प्रसारण गर्ने जो–कोही माथि प्रचलित कानुन अनुसार कारबाही गरिने चेतावनी समेत उनले दिए ।