रौतहट, १४ साउन । सास्वपा साँसद गणेश पौडेल माथि कालोमसी छ्यापेर अपमानजनक तथा अमानवीय व्यवहार गरेको आरोपमा रौतहट प्रहरीले दुई जनालाई पक्राउ गरेर अनुसन्धान कार्य अघि बढाएका छन् ।
जिल्ला प्रहरी कार्यालय रौतहटले जारी गरेको प्रेस नोटका अनुसार गत साउन ७ गते साउन ७ गते राति गढिमाई नगरपालिका–७ पर्सा स्थित मन्दिर नजिक केही व्यक्तिहरूले ’मधेश मुक्ति अभियान जिन्दावाद’ लगायतका नारा लेखिएका पर्चा छर्दै क्षेत्र नम्वर ४ बाट निर्वाचित रास्वपा साँसद पौडेल माथि कालोमसी छ्यापेर अपमानजनक व्यवहार गरेका थिए ।
घटना पश्चात जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय गरुडाको टोलीले अनुसन्धान सुरु गरेर संलग्न व्यक्तिहरुको पहिचान एवं खोजी कार्यलाई तिव्र रुपमा बढाइएका थिए तर एक साता नवित्दै उक्त आरोपित नजिक प्रहरी पुग्न सफल भए ।
प्रहरीको अनुसन्धान एवं खोजी कार्यको क्रममा घटनामा संलग्न रहेको आरोपमा गढिमाई नगरपालिका–३ घर भई वडा नं. ७ धनाडी बस्ने २० वर्षीय शखे इब्रान र सोही स्थानका १९ बर्षीय इरफान अन्सारीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी एवं डिएसपी बसन्त गौतमले जानकारी दिए ।
पक्राउ परेका दुवै जनाविरुद्ध अपमानजनक तथा अमानवीय व्यवहार सम्बन्धी कसुरमा रौतहट जिल्ला अदालतबाट तीन दिनको म्याद थप गरेर थप अनुसन्धान भइरहेको उनले भने । साथै घटनामा संलग्न भई फरार रहेका अन्य व्यक्तिहरूको समेत खोजी कार्य तीव्र रूपमा भईरहेको समेत डिएसपी गौतमले बताए ।