जिप रोकेर चालकलाई अपहरण, मरणासन्न हुने गरी कुटपिट; एक पक्राउ, अर्काको खोजी जारीजिप रोकेर चालकलाई अपहरण, मरणासन्न हुने गरी कुटपिट; एक पक्राउ, अर्काको खोजी जारी

रौतहट, २६ साउन । रौतहटमा जिप चालकलाई बाटोमै रोकेर अपहरण शैलीमा घरमा लगिएको र त्यहाँ मरणासन्न हुने गरी कुटपिट गरिएको घटना सार्वजनिक भएको छ ।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ भने अर्का आरोपीको खोजी तीव्र बनाएको हो ।
सोमबार राति करिब पौने ९ बजेको समयमा गौरबाट दुर्गा भगवती गाउँपालिका तर्फ जाँदै गरेको बीआर ०६ पीई २१२१ नम्बरको जिपलाई राजदेवी नगरपालिका–२ हजमिनिया गाउँमा जबर्जस्ती रोक्न लगाइएको थियो ।
जिप चालक दुर्गा भगवती गाउँपालिका–३ का २५ वर्षीय अरविन्द पण्डित पाहुना लिएर गन्तव्यतर्फ जाँदै गर्दा गौर नगरपालिका–९ का साहेब सिंह भन्ने राजवंश सिंह र उनका छोरा आयुष सिंहले गाडी रोक्न दबाब दिएका थिए ।
उनीहरुले गाडी नरोके पेट्रोल छर्केर आगो लगाइदिने धम्की दिएपछि पाहुना सवार चालक पण्डितले गाडी रोकेका थिए । त्यसपछि बाबुछोराले उनलाई जबर्जस्ती नियन्त्रणमा लिएर गौर नगरपालिका–९ सिर्सिया स्थित आफ्नै घरमा लगेको आरोप छ ।
घरमा पुर्याएपछि चालक पण्डित बाँधेर अम्बाको लौरोले हरणासन्न हुनेगरी कुटपिट गरिएको र उनी गम्भीर अवस्थामा पुगेको पीडित पक्षले जनाए । कुटाईको अवस्था हेरेर स्थानीयवासीले प्रहरीलाई खबर गरेपछि प्रहरी टोली घटनास्थलमा पुगेको थियो ।
प्रहरीले तत्कालै उद्धार गरेर पण्डितलाई उपचारका लागि प्रादेशिक अस्पताल गौरमा भर्ना गराएर ज्यान जोगाउन सफल भए । घटनामा संलग्न रहेको आरोपमा आज विहान प्रहरीले राजवंश सिंहलाई नियन्त्रणमा लिएको छ भने निजको आयुषको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहट स्रोतबाट बुझिएको छ ।
प्रारम्भिक विवरणअनुसार गौर–गंगापिपरा सडकखण्ड अन्तर्गत सिर्सिया क्षेत्रमा सडकमा रहेको कुकुर जिपले किचेर मारेको विषयलाई लिएर चालकलाई निशाना बनाइएको आरोप छ ।
सोही विषयलाई लिएर अर्को पालिकामा पुगेर चालकलाई नियन्त्रणमा लिई कुटपिट गरिएको भन्दै पीडित पक्षले घटनामा संलग्न व्यक्तिमाथि कडा कानुनी कारबाही गर्न प्रहरी प्रशासनसँग माग गरे ।
प्रहरीले घटना सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको समेत बुझिएको छ ।