मौलापुरमा ढल निर्माण तीव्र, डुबान समस्याबाट स्थानीयलाई राहतको आशा पलायो

रौतहट, २ भदौं । रौतहटको मौलापुर नगरपालिका ढल व्यवस्थापन तथा निर्माणमा नमुना पालिकाका रूपमा अघि बढिरहेको पाइएको छ ।
शिक्षा, स्वास्थ्य, यातायात लगायतका क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको नगरपालिकाले पछिल्लो समय व्यवस्थित ढल निर्माणलाई समेत प्राथमिकतामा राखेपछि यसको चर्चा झनै बढेको हो ।
शून्य करको नीति लिएको मौलापुर नगरपालिकाले निःशुल्क खानेपानी, निःशुल्क विद्युत्, छोरीको विवाहमा सहयोग, शिक्षा, स्वास्थ्य, यातायात तथा दलित बस्ती निर्माण लगायतका कार्यक्रम सञ्चालन गर्दै आएको जनाए ।
नगरपालिकाका अनुसार यहाँ सञ्चालन भइरहेका विभिन्न कार्यक्रमको अध्ययन तथा अवलोकन गर्न देशका विभिन्न पालिकाबाट जनप्रतिनिधि तथा कर्मचारी आउने क्रम समेत बढेको पाइन्छ ।
यसै क्रममा नगरपालिका भित्र करोडौ रुपैयाको लागतमा विभिन्न स्थानमा ढल निर्माणको काम भइरहेको छ । केही स्थानमा निर्माण सम्पन्न भइसकेको छ भने केही क्षेत्रमा निर्माण कार्य तीव्र गतिमा अघि बढिरहेको नगरपालिकाले जनाए ।
विशेषगरी मौलापुरको ऐतिहासिक पतौरा महादेव मन्दिर क्षेत्र र बजार आसपासको पानी निकास व्यवस्थापनका लागि निर्माण भइरहेको ढललाई महत्वपूर्ण परियोजनाका रूपमा हेरिएको छ । वर्षायाममा पानी जम्ने तथा डुबानको समस्या भोग्दै आएका स्थानीयलाई दीर्घकालीन राहत दिने उद्देश्यले ढल निर्माणलाई प्राथमिकतामा राखिएको छ ।
ढल निर्माणको स्थलगत निरीक्षण गर्दै मौलापुर नगरपालिकाकी मेयर रिनाकुमारी साहले नगरपालिकाले सञ्चालन गर्ने हरेक विकास निर्माणका काम गुणस्तरीय र नमुनायोग्य हुनुपर्नेमा जोड दिएकी छन् । उनले निर्माणाधीन ढलको काम समयमै सम्पन्न गर्न तथा स्थानीयको समस्या दीर्घकालीन रूपमा समाधान हुने गरी निर्माण गर्न सम्बन्धित पक्षलाई निर्देशन दिइन ।
मेयर साहका अनुसार पतौरा गाउँ तथा बजार क्षेत्रमा वर्षायाममा हुने डुबानको समस्या समाधान गर्न ढल परियोजना महत्वपूर्ण हुनेछ । “यो परियोजनाले पतौरा गाउँ र बजार क्षेत्रको डुबान समस्या दीर्घकालीन रूपमा समाधान गरी स्थानीय जनतालाई ठूलो राहत दिनेछ,” उनले बताइन् ।
स्थानीय सुरेन्द्र कुशवाहाले मौलापुरमा भइरहेको ढल निर्माण अन्य पालिकाको तुलनामा व्यवस्थित र प्रभावकारी देखिएको बताए । उनका अनुसार मौलापुर नगरपालिकाले विभिन्न क्षेत्रमा गर्दै आएका कामकै कारण अन्य पालिकाका जनप्रतिनिधि तथा कर्मचारी यहाँ आएर अध्ययन तथा अवलोकन गर्ने गरेका छन् ।
तराई–मधेसका अधिकांश क्षेत्रमा वर्षायाममा पानी निकासको उचित व्यवस्था नहुँदा डुबान तथा जलजमावको समस्या बढ्ने गरेको छ । सामान्य वर्षामै सडक, बजार तथा बस्तीमा पानी जम्दा स्थानीयले आवतजावत देखि दैनिक जीवन सम्म समस्या भोग्नुपर्ने अवस्था रहँदै आएको छ ।
यस्तो अवस्थामा मौलापुर नगरपालिकाले ढल निर्माणलाई प्राथमिकतामा राखेर अघि बढाएको कामले वर्षायामको डुबान तथा पानी निकासको समस्या समाधान हुने अपेक्षा गरिएको छ ।