रौतहटमा भाइरल ज्वरोको प्रकोप बढ्यो, प्रादेशिक अस्पताल गौरमा दैनिक सय भन्दा बढी बिरामी

रौतहट, २ भदौ । रौतहटमा पछिल्लो समय भाइरल ज्वरोका बिरामीको संख्या बढ्दै गएको छ ।
उच्च ज्वरोसहित सिकिस्त भएका बिरामीहरू उपचारका लागि प्रादेशिक अस्पताल गौरमा दैनिक ठूलो संख्यामा पुग्न थालेको हो ।
प्रादेशिक अस्पताल गौरका जनस्वास्थ्य निरीक्षक पंकज ठाकुरका अनुसार अस्पतालमा दैनिक एक सय भन्दा बढी उच्च ज्वरोका बिरामी उपचारका लागि आउने गरेका छन् । विशेषगरी बालबालिका र वृद्धवृद्धामा यसको प्रभाव बढी देखिए पनि सबै उमेर समूहका मानिस भाइरल ज्वरोबाट प्रभावित भएको उनले बताए ।
जनस्वास्थ्य निरीक्षक ठाकुरले प्रायः बिरामीहरुमा १०१ देखि १०३ डिग्री फरेनहाइट वा सोभन्दा बढी ज्वरो देखिने गरेको छ । सामान्यतः भाइरल ज्वरोको असर ४८ देखि ७२ घण्टासम्म देखिन सक्ने भएकाले उच्च ज्वरो आएमा लापरबाही नगरी समयमै स्वास्थ्य संस्थामा पुगेर चिकित्सकको निगरानीमा उपचार गराउन ठाकुरले सुझाव दिए ।
अस्पतालमा आउने बिरामीलाई आवश्यक परीक्षण तथा चिकित्सकीय निगरानीमा राखेर उपचार गरिदै आएको र उपचारपछि अधिकांश बिरामी निको भएर घर फर्किने गरेको उनले जानकारी दिए ।
स्वास्थ्यकर्मीहरूले भाइरल ज्वरोबाट बच्न अत्यधिक घाम र गर्मीबाट जोगिन, पर्याप्त आराम गर्न, स्वच्छ तथा सुरक्षित खानेपानी र खानाको प्रयोग गर्न तथा अत्यधिक चिसो पदार्थको सेवन कम गर्न सुझाव समेत दिए । साथै, ज्वरो आएमा आफूखुसी औषधि सेवन नगरी स्वास्थ्यकर्मीको सल्लाह लिन आग्रह गरिएको छ ।
प्रादेशिक अस्पताल गौरमा उपचारका लागि आउने बिरामीको संख्या मात्रै दैनिक सयभन्दा बढी रहेको बताइएको छ । जिल्लाका अन्य सरकारी तथा निजी अस्पताल र स्वास्थ्य संस्थामा समेत भाइरल ज्वरोका बिरामी उपचारका लागि पुगिरहेको जनाइएको छ । यसले जिल्लामा भाइरल ज्वरोको संक्रमण बढ्दो क्रममा रहेको संकेत गरेको छ ।
सुरुमा यसका लक्षणहरुमा ज्वरो, टाउको दुख्ने, शरीर दुख्ने, रुघा लाग्ने, कमजोरी लगायतका लक्षण देखिएमा समयमै स्वास्थ्य संस्था पुग्न र परिवारका अन्य सदस्यमा संक्रमण फैलिन नदिन व्यक्तिगत सरसफाइ तथा सावधानी अपनाउन स्वास्थ्यकर्मी ठाकुरले आग्रह गरे ।