भारत–नेपाल सीमाक्षेत्र भएर नेपाल प्रवेश गर्न तयारीमा रहेका सोमालियाली नागरिक एसएसबीको फन्दामा

रौतहट, २ भदौं । रौतहटसँग जोडिएको भारत–नेपाल सीमावर्ती क्षेत्रमा शंकास्पद गतिविधि गरिरहेको तथा नेपाल प्रवेशको तयारीमा रहेका एक जना सोमालियाली नागरिकलाई भारतीय सशस्त्र सीमा बल (एसएसबी) को फन्दामा परेका छन् ।
एसएसबी २० औं बटालियन भंगहाका टोलीले सोमबार साँझ भारत विहार मोतिहारी जिल्लाको बैधनाथपुर क्षेत्र संगै नेपालको रौतहटको इशनाथ नगरपालिका संग सीमा जोडिएका क्षेत्रमा शंकास्पद गतिविधि एवं अबैध प्रवेशको तयारीमा रहेका सोमालियाका नागरिक काफी अली उर्फ हासी अलीलाई नियन्त्रणमा लिएका हुन् ।
एसएसबी श्रोतका अनुसार सोमालियाली नागरिक अली भारतीय बजार घोडासहनबाट बस चढेर बैधनाथपुर आएका थिए । सीमावर्ती क्षेत्रमा उनको गतिविधि शंकास्पद देखिएपछि एसएसबीले निगरानी बढाउदै नियन्त्रणमा लिन सफल भए ।
पक्राउ परेका अलीको साथबाट २५ हजार भारतीय रुपैया नगद, मोबाइल फोन, माइक्रोफोन लगायतका सामग्री बरामद भएको बताइएको छ । उनी अवैध रूपमा भारत–नेपाल सीमा पार गर्ने तयारीमा थिए कि सीमावर्ती क्षेत्रमा पुग्नुको अन्य कुनै उद्देश्य थियो भन्ने विषयमा गहन अनुसन्धान जारी रहेको छ ।
तिनको राहदानी, यात्रा कागजात, भारत प्रवेशको विवरण तथा अन्य परिचय सम्बन्धी कागजातको चेकजाँच भइरहेको भारतीय सुरक्षा स्रोतले जनाए । साथै, नेपाल प्रवेशको सम्भावित उद्देश्य र सीमावर्ती क्षेत्रमा उनको स्थानीय सम्पर्क बारे समेत अनुसन्धान अघि बढाइएको छ ।
विदेशी नागरिक सीमावर्ती क्षेत्रमा शंकास्पद अवस्थामा पक्राउ परेपछि भारतीय सुरक्षा निकायले घटनालाई संवेदनशील रूपमा लिएको छ ।
घटनापछि भारत–नेपाल सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी थप कडा पारिएको छ । पक्राउ परेका विदेशी नागरिकमाथि हुने कानुनी कारवाही तथा उनको गतिविधिको वास्तविक उद्देश्यबारे अनुसन्धान पूरा भएपछि मात्रै थप विवरण सार्वजनिक गरिने सुरक्षा निकाय श्रोतबाट बुझिएको छ ।