
रौतहटमा कांग्रेसको विस्तारित बैठक, १५औं महाधिवेशन सफल बनाउनमा जुट्न आह्वान
रौतहट, ३ असोज । नेपाली कांग्रेस रौतहटको जिल्ला कार्यसमितिको विस्तारित बैठक सम्पन्न भएको छ ।
बैठकले पार्टीको १५औँ महाधिवेशन तथा वडा अधिवेशनलाई सफल बनाउन नेता–कार्यकर्तालाई सक्रिय रूपमा जुट्न आह्वान गरेको हो ।
बैठकमा नेपाली कांग्रेस मधेस प्रदेश प्रचार विभाग प्रमुख नितेशकुमार गुप्ताले पार्टीका नेता तथा कार्यकर्तालाई संगठन सुदृढीकरण सँगै आगामी महाधिवेशनलाई सफल बनाउन एकताबद्ध भएर अघि बढ्न आग्रह गरे ।
गुप्ताले कांग्रेस नयाँ चरणमा प्रवेश गरेको उल्लेख गर्दै पार्टीलाई नयाँ ऊर्जा र नेतृत्वका साथ अघि बढाउनु पर्ने धारणा राखे । उनले कार्यक्रममा बोल्दै अगामी दिनमा गगनकुमार थापा प्रधानमन्त्री बन्ने दाबी समेत गरे ।
बैठकमा पार्टीभित्र एकता, अनुशासन र संगठन सुदृढीकरणलाई प्राथमिकता दिनुपर्नेमा जोड दिइएको थियो । साथै, वडा अधिवेशनलाई उत्साहपूर्ण, व्यवस्थित र सफल बनाउन सबै क्रियाशील सदस्य, नेता तथा कार्यकर्तालाई सक्रिय हुन आग्रह गरिएको छ ।
कांग्रेस रौतहटमा असोज ४ गते वडा अधिवेशन गर्ने तयारी गरिएको गुप्ताले जानकारी दिए । उनले वडा अधिवेशनलाई पार्टी संगठनको आधार बलियो बनाउने महत्वपूर्ण अवसरका रूपमा लिएर सक्रियता पूर्वक सहभागी हुन नेता तथा कार्यकर्तालाई आग्रह गरे ।
बैठकमा स्थानीय तहदेखि जिल्ला तहसम्म पार्टीको संगठनलाई थप प्रभावकारी बनाउने, नेता–कार्यकर्ताबीच समन्वय बढाउने तथा महाधिवेशनको तयारीलाई तीव्रता दिने विषयमा समेत छलफल भएको जनाइएको छ ।