प्रभात फेरी देखि झण्डोत्तोलन सम्मः विविध कार्यक्रम गरेर रौतहटमा भव्य रुपमा मनाइयो संविधान दिवस

रौतहट, ३ असोज । संविधान दिवसको अवसरमा रौतहटमा शनिबार विविध कार्यक्रम आयोजना गरी संविधान दिवस भव्यताका साथ मनाइएको छ ।
संविधान दिवसको अवसरमा जिल्ला प्रशासन कार्यालय रौतहटको आयोजनामा गौरको घण्टाघरबाट बिहान प्रभातफेरी निकालिएका थिए । विभिन्न निकायका कर्मचारी, सुरक्षाकर्मी, विद्यार्थी तथा सरोकारवालाको सहभागितामा निकालिएको प्रभातफेरीले गौर नगरको विभिन्न भागको परिक्रमा गरेर गरिएको थियो । नगर परिक्रमा पश्चात जिल्ला प्रशासन कार्यालय नजिकै रहेको जिल्ला समन्वय समितिको परिसरमा झण्डोत्तोलन गरियो । प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद पौडेलले राष्ट्रिय झण्डा फहराएर कार्यक्रमको शुभारम्भ गरे ।
झण्डोत्तोलनपछि संविधान दिवसको सन्दर्भमा सामान्य अन्तरक्रिया कार्यक्रम समेत गरियो । कार्यक्रममा संविधानको कार्यान्वयन, लोकतान्त्रिक व्यवस्था तथा नागरिकका अधिकार तथा राष्ट्र सेवक कर्मचारीले प्रवाह गर्नुपर्ने सेवाका विषयमा छलफल गरियो ।
उक्त अवसरमा गौर नगरपालिकाका प्रमुख शम्भु साह, जिल्ला सुरक्षा समितिका प्रमुख पदाधिकारीहरु, जिल्ला समन्वय समितिका प्रमुख रामअयोध्या यादव, विभिन्न सरकारी निकायका कर्मचारी, सुरक्षाकर्मी तथा विद्यार्थीहरूको सहभागिता रहेको जिल्ला प्रशासन कार्यालय रौतहटका प्रशासन शाखा प्रमुख रामनरेश साहले जानकारी दिए ।
संविधान दिवसको अवसरमा आयोजित कार्यक्रमले संविधानको महत्व, लोकतान्त्रिक मूल्य–मान्यता तथा नागरिक अधिकार प्रति जनचेतना अभिवृद्धि गर्ने तथा संविधानले नै सबैको हक अधिकार सुनिश्चित गरेको हुँदा सबैको सहभागीता रहनुपर्ने आयोजकले जनाए ।