मौलापुरमा प्रशासनिक संकट गहिरियोः ‘अविलम्ब प्रप्रअ पठाइदिन’ नगरप्रमुख साहको प्रधानमन्त्री सँग अनुरोध

रौतहट, ३० भदौं । मौलापुर नगरपालिका लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत विहीन हुँदा नगरपालिकाको दैनिक प्रशासनिक काम देखि विकास निर्माण र नागरिक सेवा प्रभावित भएपछि नगरप्रमुख रिना कुमारी साहले प्रधानमन्त्री बालेन्द्र शाह समक्ष तत्काल प्रमुख प्रशासकीय अधिकृत पठाउन सार्वजनिक अपिल गरेकी छन् ।
नगरप्रमुख साहले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्र पठाउँदै नगरपालिकामा देखिएको प्रशासनिक तथा वित्तीय समस्या बारे गम्भीर ध्यानाकर्षण गराएकी हुन् ।
उनले आफू काठमाडौं महानगरपालिकाको प्रमुख हुँदा प्रमुख प्रशासकीय अधिकृत विहीनताको पीडा र अनुभव भोगिसकेको उल्लेख गर्दै मौलापुरलाई थप अस्तव्यस्त हुनबाट जोगाउन तत्काल प्रशासनिक नेतृत्वको व्यवस्था गर्न आग्रह गरेकी छिन् ।
मेयर साहका अनुसार नगरपालिकाका सफाइ कर्मचारीको तलब २ देखि ८ महिना सम्म, जनप्रतिनिधिको सुविधा ४ महिना र वडा सञ्चालन खर्च ५ महिना देखि भुक्तानी हुन सकेको छैन । प्रशासनिक प्रमुखको अभावमा आर्थिक कारोबार तथा नियमित प्रशासनिक प्रक्रिया प्रभावित हुँदा कर्मचारी तथा जनप्रतिनिधि समेत समस्यामा परेको उनको भनाइ छ ।
दलित बस्ती निर्माणदेखि सामाजिक कार्यक्रम सम्म प्रभावित ?
मौलापुर–९ स्थित सोनरनिया एकीकृत दलित बस्ती निर्माण आयोजना निर्माणाधीन रहे पनि भुक्तानी प्रक्रिया अघि बढ्न नसक्दा काम प्रभावित भएको नगरप्रमुख साहले बताइन । अति विपन्न दलित समुदायका लागि निर्माण भइरहेको आवास निर्धारित समयमै सम्पन्न हुन नसक्दा लक्षित समुदायले यसै आर्थिक वर्षमा सुविधा सम्पन्न घर पाउने आशामाथि नै प्रश्न उठेको उनले उल्लेख गरिन् ।
यस्तै, नगरसभाबाट २०७४ सालदेखि निरन्तर सर्वसम्मत पारित हुँदै आएको निःशुल्क विद्युत् तथा खानेपानी कार्यक्रम अन्तर्गत ५ हजार भन्दा बढी लाभग्राहीको विद्युत् महसुल भुक्तानी हुन नसकेको साहको दाबी छ ।
महसुल भुक्तानी नहुँदा नेपाल विद्युत् प्राधिकरण, मौलापुर वितरण केन्द्रले विद्युत् लाइन काट्न थालेको र यसबाट जनतामा आक्रोश बढ्न सक्ने भन्दै उनले सम्भावित अप्रिय घटनाको जिम्मेवारी कसले लिने भन्ने प्रश्नसमेत उठाइन ।
‘छोरीसँग मेयर’ कार्यक्रमको रकमको अभावमा प्रभावित ?
नगरप्रमुख साहले ‘छोरीसँग मेयर’ कार्यक्रम अन्तर्गत ३ सयभन्दा बढी विपन्न लाभग्राहीका छोरीको विवाहका लागि छुट्याइएको अनुदान रकम समेत भुक्तानी हुन बाँकी रहेको उनले भनिन ।
रकम नपाएपछि लाभग्राहीहरू नगरपालिका कार्यालय धाउने र रित्तो हात फर्किनु पर्ने अवस्था सिर्जना भएको भन्दै उनले विपन्न तथा सीमान्तकृत परिवारको समस्या प्रति संघीय सरकारले तत्काल ध्यान दिनुपर्ने माग गरिन ।
इन्धन देखि इन्टरनेटसम्म समस्या
नगरपालिकाको दैनिक सेवा सञ्चालनमै समस्या उत्पन्न भएको मेयर साहको भनाइ छ । पेट्रोल पम्पले कार्यालयलाई इन्धन उपलब्ध गराउन छाडेको, अतिथि सत्कारका लागि चिया पसलले समेत चिया दिन छाडेको र इन्टरनेटको लाइन काटिएका कारण नगरपालिका तथा मातहतका कार्यालयबाट प्रदान हुने अनलाइन सेवासमेत प्रभावित भएको उनले भनिन ।
फोहोर मैला र नाला व्यवस्थापन हुन नसक्दा नगरको सरसफाइ अवस्था बिग्रँदै गएको तथा शिक्षक, कर्मचारी र स्वास्थ्यकर्मी समेत आन्दोलनमा जाने अवस्था सिर्जना भएको उनले उल्लेख पत्रको माध्यमबाट प्रधानमन्त्री शाह संग अनुरोध गरिन् ।
बजेट खर्च १०.६८ प्रतिशतमा सीमित भएको दाबी
नगरप्रमुख साहले प्रमुख प्रशासकीय अधिकृतको अभाव र संघीय सरकारको हस्तक्षेपका कारण नगरपालिकाको आर्थिक तथा भौतिक प्रगति समेत कमजोर बनेको दाबी गरेकी छिन् । उनका अनुसार विगतमा ९० प्रतिशत भन्दा बढी वित्तीय तथा भौतिक प्रगति गर्दै आएको मौलापुर नगरपालिकाको गत आर्थिक वर्ष २०८२–०८३ मा बजेट खर्च १०.६८ प्रतिशतमा सीमित भएको छ ।
प्रमुख प्रशासकीय अधिकृतको नियमित उपस्थितिको अभावमा विद्युत्, खानेपानी तथा सिँचाइ महसुल, एकीकृत दलित बस्ती, पशु पकेट विकास, बहुक्षेत्रीय पोषण तथा खानेपानीका लागि डिप बोरिङ लगायतका कार्यक्रम समेत प्रभावित भएको छ ।
नगरप्रमुख साहले प्रधानमन्त्री शाहलाई विगतमा काठमाडौं महानगरपालिकाको प्रमुखका रूपमा आफूले पनि प्रमुख प्रशासकीय अधिकृतविहीनताको समस्या भोगेको स्मरण गराउँदै भनिन्, “आफूले भोगिसकेको अनुभवलाई आत्मसात् गर्दै मौलापुर नगरपालिकालाई थप अस्तव्यस्त हुनबाट जोगाउन अविलम्ब प्रमुख प्रशासकीय अधिकृतको व्यवस्था गरिदिन अनुरोध गरिन् ।”