गौरमा अटोचालकको प्रदर्शन, कर र अवरोध हटाउन माग

ऋण लिएर अटो चलाउँदै आएका चालक तेस्रोपटक सडकमा, नगरप्रहरीले यात्रु ओरालेर दुःख दिएको आरोप
रौतहट, ३० भदौ । रोजगारीको अवसर नपाएपछि ऋण लिएर डाफे (तीन पांग्रे अटोरिक्सा) चलाउँदै आएका चालकहरू गौर नगरपालिका विरुद्ध आक्रोशित भई प्रदर्शन गरेका छन् ।
नगरपालिकाले अनावश्यक कर तथा झन्झट सिर्जना गरेको आरोप लगाउँदै डाँफे चालकहरूले मंगलबार तेस्रोपटक गौरमा विरोध प्रदर्शन गरेका हुन् । हातमा विभिन्न मागसहितका पोस्टर बोकेर चालकहरूले गौर नगरपालिकाको कार्यालय अगाडि नाराबाजी गर्दै कार्यपालिकाको गेटमा प्रदर्शन गरे । उनीहरूले निर्वाध रूपमा अटो सञ्चालन गर्न पाउनुपर्ने तथा नगरपालिकाले अनावश्यक अवरोध र करको भार नथोपर्नु पर्ने माग चालकहरुको रहेको छ ।
अटोचालक संजय साहका अनुसार बेरोजगारीबाट मुक्त हुने उद्देश्यले ऋण लिएर अटो खरिद गरी परिवारको गुजारा चलाउँदै आएका चालकलाई नगरपालिकाको व्यवहारले थप समस्यामा पारेको छ ।
उनले गरुडा तथा जिल्लाका ग्रामीण भेगबाट यात्रु लिएर गौर आउँदा नगरप्रहरीले नगर क्षेत्रमै यात्रु ओरालिदिने गरेको आरोप लगाए । पटक–पटक नगरपालिकासँग छलफल गरी समस्या समाधानको प्रयास गरे पनि नगरप्रहरीको कार्यशैलीमा सुधार नआएपछि बाध्य भएर आन्दोलनमा उत्रिनुपरेको साहको भनाइ छ ।
“जिल्ला एउटै हो, एक पालिकाबाट अर्को पालिकामा जाँदा किन यस्तो कर र अवरोध ? करको भार अन्ततः यात्रुमाथि नै थपिन्छ,” साहले भने, “रोजगारीको विकल्प नहुँदा ऋण लिएर अटो चलाएका छौं, निर्वाध रूपमा चलाउन पाउनु पर्छ ।”
चालकहरूले आफूहरूको माग सम्बोधन नभएसम्म शान्तिपूर्ण संघर्ष जारी राख्ने चेतावनी दिए । उनीहरूले स्थानीय तहबीचको समन्वयमा यातायात सञ्चालन सहज बनाउन र नगरप्रहरीबाट हुने अवरोध तत्काल रोक्न माग गरेका छन् ।
समाचार तयार पार्दा सम्म अटो चालकका प्रतिनिधि र गौर नगरपालिकाको जिम्मेवार पदाधिकारीहरु बीच छलफल भईरहेको बुझिएको छ । छलफलमा गरुडा नगरपालिकाको युवा नेता दिपक यादवको साथ र सहयोग रहेको देखियो । युवा नेता यादवले गरिव असहाय एवं पीडित नागरिकको पक्षमा निरन्तर रुपमा आवाज उठाउदै आएका छन् ।