भारतीय राजदूत श्रीवास्तवको दुई दिने वीरगञ्ज भ्रमणः सीमा व्यापारदेखि बाढी राहतसम्म भारतको सहयोग

वीरगञ्ज, २७ भदौं । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सेप्टेम्बर ११ र १२ मा वीरगञ्जको भ्रमणको क्रममा सीमा व्यापार, द्विपक्षीय सहकार्य तथा नेपालमा भारतले गर्दै हालै आएको बाढी राहत सहयोगबारे विभिन्न क्षेत्रका सरोकारवाला सँग छलफल गरे ।
दुई दने भ्रमणका क्रममा राजदूत श्रीवास्तवले सेप्टेम्बर ११ मा वीरगञ्जस्थित एकीकृत जाँच चौकी (आईसीपी) को निरीक्षण गरेका थिए । उनले वीरगञ्ज भन्सार कार्यालयका प्रमुख तथा टर्मिनल प्रमुख लगायत अधिकारीहरू सँग भेट गरी सीमा व्यापार तथा आयात–निर्यात प्रक्रिया सम्बन्धी विषयमा जानकारी लिएको महावाणिज्यदूतावास वीरगञ्जद्वारा जारी प्रेस विज्ञप्तीमा उल्लेख गरिएको हो ।
भारत तर्फको रक्सौल स्थित आईसीपीको समेत भ्रमण गरे । त्यहाँ सीमा पार व्यापार सहजीकरण र दुई देशबीचको समन्वयबारे समीक्षा गर्न भारतीय भूमि पत्तन प्राधिकरण (एलपीएआई), सशस्त्र सीमा बल (एसएसबी), भन्सार, अध्यागमन, प्लान्ट क्वारेन्टाइन तथा एफएसएसएआईका वरिष्ठ अधिकारीहरूसँग भेटघाट गरेको बताइएको छ ।
राजदूत श्रीवास्तवले रक्सौल स्थित भारतीय दूतावासको बंगलामा भ्रमण गरी उक्त हाता भित्र बिरुवा रोपेका थिए ।
भ्रमणकै क्रममा साँझ उनले भारत–नेपाल सहयोग मञ्च तथा नेपाल–भारत मैत्री संघका प्रतिनिधिमण्डल सँग भेटघाट गरेका थिए । त्यसपछि वीरगञ्जका उद्योगी–व्यवसायी तथा वीरगञ्ज उद्योग वाणिज्य संघ, एनआईसीसीआई र एनवाईईएफका प्रतिनिधिसँग अन्तरक्रिया गरेको महावाणिज्य दूतावासले जनाए ।
राजदूत श्रीवास्तव–संचारकर्मीहरु संग भेटवार्ता
आज बिहान राजदूत श्रीवास्तवले वीरगञ्जका स्थानीय पत्रकारहरूसँग समेत अन्तरक्रिया गरे । भेटघाट तथा अन्तरक्रियाका क्रममा राजदूत श्रीवास्तवले भारत र नेपालबीचको गहिरो तथा दीर्घकालीन मैत्रीपूर्ण सम्बन्धमा जोड दिँदै नेपालको विकासमा भारतको निरन्तर सहयोग र प्रतिबद्धतालाई दोहोर्याए ।
उनले नेपालमा हालै आएको बाढीपछि भारतले उपलब्ध गराउँदै आएको राहत तथा उद्धार सहयोगबारे जानकारी गराए । राजदूत श्रीवास्तवले विनाशकारी बाढी पहिरोको पहिलो दिन अर्थात अगस्ट २६, २०२६ देखि भारतले निरन्तर रुपमा नेपालमा १३० टनभन्दा बढी राहत सामग्री पठाइसकेको बताए । राहत सामग्रीमा आश्रय सामग्री, कम्बल, सरसफाइ किट, सौर्य बत्ती तथा औषधि लगायत सामग्री रहेको स्पष्ट पारे ।
भारतले राहत तथा उद्धार कार्यका लागि भारतीय वायुसेनाका ८ वटा उडान मार्फत आवश्यक सामग्री नेपाल पठाएको छ । चिलिमे र लाङटाङ क्षेत्रमा सञ्चालनका लागि विशेष सुरुङ उद्धार टोली सहित ५४ जना विशेषज्ञ कर्मचारी समेत परिचालन गरिएको उनले बताए ।
त्यस्तै, बेपत्ता व्यक्तिको पहिचान तथा अनुसन्धानका लागि डीएनए किट र फोरेन्सिक सहयोग उपलब्ध गराइएको तथा बाढीका कारण अवरुद्ध सडक तथा आवागमन पुनः सञ्चालन गर्न बेली ब्रिज निर्माणका लागि आवश्यक उपकरण र सामग्री उपलब्ध गराइएको राजदूत श्रीवास्तवले जानकारी दिए ।
कनेक्टिभिटी पुनस्र्थापनाका लागि २३० फिट लामो पुल निर्माणका लागि १६ ट्रक सामग्री तथा थप सातवटा पुलका लागि आवश्यक सामग्री समेत पठाइएको उनले जिकिर गरे ।
राजदूतको वीरगञ्ज भ्रमणका क्रममा सीमा व्यापार सहजीकरण, पूर्वाधार, उद्योग–व्यवसाय, दुई देशबीचको सम्बन्ध तथा विपद्का बेला भारतबाट प्राप्त सहयोग लगायत विषयमा गहन छलफल भए । भ्रमणले नेपाल–भारतबीचको व्यापारिक, आर्थिक तथा मानवीय सहकार्यलाई थप प्रभावकारी बनाउने कार्यमा बल पुगेको छ ।
भारतीय राजदूत नविन श्रीवास्तवको दुई दिने वीरगञ्ज भ्रमणको क्रममा रक्सौल सहित विभिन्न स्थानमा गरिएको कार्यक्रमका केही झलकहरु ।