सुशासन र भ्रष्टाचारविरुद्ध कडा रूपमा प्रस्तुत हुने नव आगन्तुक सीडीओ लक्ष्मीप्रसाद पौडेलको प्रतिबद्धता

रौतहट, २५ भदौ । जिल्ला प्रशासन कार्यालय रौतहटको नेतृत्व सम्हालेका प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद पौडेलले जिल्लामा सुशासन, पारदर्शी सेवा प्रवाह तथा भ्रष्टाचार नियन्त्रणका सवालमा कुनै पनि सम्झौता नगर्ने प्रतिबद्धता व्यक्त गरे ।
जिल्ला प्रशासन कार्यालय रौतहटले बिहीबार सदरमुकाम गौरमा आयोजना गरेको सञ्चारकर्मीसँगको परिचयात्मक एवं अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी पौडेलले जनतालाई सहज, छिटो र पारदर्शी ढंगले सेवा उपलब्ध गराउनु आफ्नो प्रमुख प्राथमिकता रहेको बताए ।
निजामती सेवामा प्रवेश गरेदेखि नै आफूले सुशासन र पारदर्शितालाई प्राथमिकतामा राख्दै काम गर्दै आएको उल्लेख गर्दै उनले रौतहटमा पनि सोही कार्यशैलीलाई निरन्तरता दिने बताए । कार्यालयबाट प्रदान गरिने सेवामा अनावश्यक ढिलासुस्ती, बिचौलियाको प्रभाव तथा सेवाग्राहीलाई दुःख दिने प्रवृत्तिलाई निरुत्साहित गरिने उनको भनाइ थियो ।
“सुशासन, पारदर्शिता र भ्रष्टाचार नियन्त्रणका विषयमा कुनै सम्झौता हुँदैन,” पौडेलले भने, “कानुनको पालना र नागरिकलाई प्रभावकारी सेवा दिनु प्रशासनको मुख्य दायित्व हो ।”
उनले जिल्लामा शान्ति–सुरक्षा कायम गर्नुका साथै अपराधिक गतिविधि नियन्त्रणमा पनि प्रशासनले कडाइका साथ काम गर्ने बताए । अपराध तथा गैरकानुनी गतिविधिमा संलग्न जोसुकै भए पनि कानुन अनुसार कारबाहीको दायरामा ल्याएर छाड्ने ।
कार्यक्रममा सहभागी सञ्चारकर्मीहरूले जिल्लाको शान्ति–सुरक्षा, सेवा प्रवाह, भ्रष्टाचार नियन्त्रण, विकास निर्माण तथा नागरिकका समस्या लगायतका विषयमा प्रशासनको ध्यानाकर्षण गराएका थिए ।
प्रमुख जिल्ला अधिकारी पौडेलले प्रशासन र सञ्चार क्षेत्रबीचको सहकार्यलाई थप प्रभावकारी बनाउँदै जिल्लाका वास्तविक समस्या तथा नागरिकका गुनासालाई सम्बोधन गर्न आफू सकारात्मक रहेको बताए । उनले प्रशासनका कामकारबाहीलाई पारदर्शी बनाउन सञ्चारमाध्यमको रचनात्मक सहयोगको आवश्यक्ता महसुस गरे ।