
अज्ञात समूहद्वारा गौरमा गोली प्रहार, २८ वर्षीय युवक घाइतेः थप उपचारका लागि वीरगन्ज पठाइयो
रौतहट, १८ कार्तिक । रौतहटको सदरमुकाम गौरमा अज्ञात समूहको गोली प्रहारबाट स्थानीय युवक घाइते भएका छन् ।
मंगलबार राति ९ बजेको समयमा गौर नगरपालिका–४ गढवा टोलस्थित पानी ट्याङ्की नजिक अज्ञात समूहको गोली प्रहारबाट २८ वर्षीय युवक राकेश यादव घाइते भएका हुन् ।
अज्ञात समुहले चलाएको गोली लागेर घाइते भएका यादवलाई तत्कालै प्रादेशिक अस्पताल गौरमा प्राथमिक उपचार पश्चात थप उपचारको लागि वीरगञ्ज तर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाए ।
विरगञ्जको बयोधा अस्पतालमा उपचार भईरहेका यादवको पिठ्युमा गोली लागेको, खुटा सहित शरीरको विभिन्न भागमा चोट लागेको हुँदा अवस्था गम्भीर नै रहेको प्रहरी श्रोतबाट बुझिएको छ । निजको शल्यक्रिया मार्फत गोली शरीरबाट झिक्ने प्रयास भईरहेको बयोधा अस्पताल श्रोतले जनाए ।
यता गोली प्रहार गर्ने अज्ञात समूहको खोजी कार्य जारी रहेको रौतहट प्रहरीका प्रवक्ता एवं डिएसपी बसन्त गौतमले जानकारी दिए । गोली कति राउण्ड चल्यो त्यस सम्बन्धमा बुझ्ने कार्य जारी रहेको उनले भने ।
गोली प्रहार गर्नुको कारण, घटनामा संलग्न व्यक्तिहरूको पहिचान तथा घटनाको वास्तविकताबारे प्रहरीले अनुसन्धानलाई तिव्र बनाएको छ ।
स्मरण रहोस, चाँड पर्वको समयमा गौर बस पार्क नजिकै रहेका उक्त स्थानमा गोली प्रहार हुनुबाट सदरमुकाम गौरको सुरक्षा व्यवस्थाको पोलपटि खोली दिएको छ ।
सादा पोशाकमा खटिने प्रहरी अपराधिक एवं गैरकानुनी क्रियाकलापको सुचना संकलन गर्नेहरु पनि जिम्मेवारीबाट विमुख हुन थालेपछि अपराधिक क्रियाकलाप सलबलाउन थालेका छन् ।