रौतहटको गौर अस्पतालमा दोस्रो पटक सुचनाको माग
रौतहट १६ असार । रौतहटको गौर अस्पतालमा दोस्रो पटक सुचनाको माग गरिएको छ । रौतहटको गौरस्थित गौर अस्पतालका प्रमुख डाक्टर कृष्ण साह , लेखा प्रमुख नारायण झा र स्टोर प्रमुख रामआश्रय मुखियाको चरम लापरवाहीका कारण गत जेठ ३० गते अस्पतालमा दर्ता भएको निवेदनको सुनुवाई नभएको बताइएको छ । अस्पतालका मुख्या ब्यक्तिहरुका कारण नै विभिन्न जानकारीको मागसहित गौरका स्थानिय अमिट कुमार ठाकुरको निवेदनको सुनवाई नभएको गौर अस्पतालका सुचना अधिकारी राजकिशोर राउतले बताउनु भयो । पहिलो निवेदनको बेवास्ता भएपछि बुधबार पुन दोस्रो पटक ठाकुरले सुचनाको हक निवेदन दर्ता गर्नु भएको हो । सुचनाको हक आम नागरिकको हक रहेको संविधानको धारा २७ ले कानुनमा नै ब्यबस्था गरेको छ । आफुले माग अनुसारको सुचनाको लागि धेरै प्रयास गरेको र सुचनाबारे मेडिकल सुपरिटेन्डेन्ट डा.कृष्णा साह, लेखा प्रमुख श्री नारायण झा, र स्टोर प्रमुख रामआश्रय मुखियालाई समेत बारम्बार जानकारी गराउँदा पनि नटेरेको सुचना अधिकारी राउतको भनाइ रहेको छ । माग भए अनुसारको कागजात सम्बन्धित ब्यक्तिलाई उपलब्ध गराई दिन आदेश दिई सकेकाले अब केही दिनमा सो सुचनाहरु उपलब्ध हुने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. कृष्ण साहले बताउनु भयो ।