जनकपुरधाम, साउन १५ गते ।
जिल्ला प्रहरी कार्यालय धनुषाको शौचालयमा झुण्डिएको अवस्थामा थुनुवा मृत भेटिएको घटनाको विरोधमा प्रहरी प्रशासनविरुद्ध प्रदर्शन भएको छ ।
लक्ष्मिनिया गाउँपालिका २ का ४० वर्षीय पल्टु रवि दास शुक्रबार बिहान ४ बजेतिर प्रहरी कार्यालयभित्रको शौचालयको भेन्टिलेसनमा आफ्नै गञ्जीको पासो बनाइ झुण्डिएको अवस्थामा भेटिएका थिए । सोही घटनाको विरोधमा मृतकका परिवार र स्थानीयले जिल्ला प्रहरी कार्यालय अगाडि प्रदर्शन गरेका हुन् ।
मृत्यु घटना आत्महत्या नभई हत्या भएको आरोप लगाउँदै उनीहरू आन्दोलित बनेका छन् । घटनाको सूक्ष्म छानबिन र पीडितसँग न्याय हुनुपर्ने माग उनीहरूको छ ।
दास शौलालयमा मृत भेटिएपछि राष्ट्रिय मानवअधिकार आयोगको टोलीसमेत प्रहरी कार्यालय पुगेको छ । ‘प्रहरी कार्यालयभित्र मृत्यु हुनु दुःखद हो,’ जिल्ला प्रहरी कार्यालय पुगेकी आयोगकी अधिकृत मनमाया मगरले भनिन्, ‘सूक्ष्म अनुसन्धान हुनुपर्छ । पोष्टमार्टम रिपोर्टपछि थप केही भन्छौँ ।’
शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको धनुषाका प्रहरी प्रमुख एसपी प्रकाश रानाभाटले बताए ।
आफ्नै भाइ विल्टु रविदाससँग घरायसी विवादमा ज्यान मार्ने उद्योग र अंगभंग मुद्दामा धनुषा जिल्ला अदालतले उनीसँग दुई लाख धरौटी माग गरेको थियो । आर्थिक रूपले विपन्न उनलाई सो रकम तिर्न नसकेपछि अदालतले कारागार कार्यालय सिन्धुली पठाउन आदेश दिएको थियो ।