उपमेयरको बहिस्कारका बावजुद गरुडा नगरपालिकाको छैठौं नगरसभा सम्पन्न, ५३ करोड भन्दा बढी बजेट पारित

 २०७८, १७ आश्विन आईतवार

रौतहटको गरुडा नगरपालिकाको छैठौं नगरसभा आइतवार सम्पन्न भएको छ ।
सामाजिक दुरी कायम राख्दै नगर कार्यपालिकाको कार्यालय गरुडाको सभाकक्षमा आयोजित कार्यक्रमका बीच नगरपालिकाको छैठौं नगरसभा भव्याताका साथ सम्पन्न भएको छ ।
सरकारले तोके अनुसार सबै पालिकाले असाढ मसान्तमै नगर परिषद गरिसक्नुपथ्र्यो तर विभिन्न कारणले हुन नसकेको गरुडा नगरपालिकाको ६ औं नगरसभा दुई महिना ढिलो गरी आइतवार मात्र सम्पन्न भएको हो ।
नगर प्रमुख इनु राय यादवको अध्यक्षतामा सम्पन्न भएको नगरसभाले चालु आर्थिक वर्ष २०७८÷०७९ मा नगरको समग्र विकासका लागि ५३ करोड भन्दा बढी आयव्यय सहितको बजेट प्रस्तुत गरेको छ ।
चालु आर्थिक वर्षमा नगरको चौतर्फि विकासका लागि गरुडा नगरपालिकाले आफना छैठौं नगरसभाबाट ५३ करोड ७५ लाख ६२ हजार रुपैयाँ बजेट पारित गरेको छ ।
कार्यक्रममा नगर प्रमुख इनु राय यादवले चालु आर्थिक वर्षको लागि वित्तिय समानीकरण, शशर्त अनुदान, राजस्व बाँडफाँड, आन्तरिक आय लगाएतको गरी सो रकम प्रस्तुत गरेका हुन ।
यस वर्ष शिक्षा, स्वास्थ्य, कृषि, यातायात, खानेपानी, विधुत, भौतिक पुर्वाधार निर्माण कार्य लगाएतलाई विशेष प्राथमिकतामा राखेर सो बजेट प्रस्तुत गरिएको नगर प्रमुख यादवले बताए ।
चालु आर्थिक वर्ष २०७८÷०७९ को नीति तथा कार्यक्रमको लक्ष्य समृद्ध नगर, खुसी नगरवासी रहेको छ । यस वर्ष विकास खर्चको कम्तीमा ८० प्रतिशत रकम पक्की कार्यमा खर्च गरिने नगरसभाको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
यसैविच नगर उपप्रमुख रंगीला देवी जयसवाल नगरसभा बाहिस्कार गरेकी छिन । उपप्रमुख जयसवाल सहित केही कार्यपालिका सदस्यहरुले नगरसभा बहिस्कार गर्दै नगरसभामा सहभागी भएका छैनन ।
नगर उपप्रमुख जयसवाल लगाएत कार्यपालिका सदस्यहरुले नगरपरिषद बहिस्कार गर्दै अनुपस्थित भएपनि नगर प्रमुख इनु राय यादवले नगरसभा सम्पन्न गरेका छन ।
नगर परिषदको लागि आवश्यक केही तयारी पुरा नभएको अवस्थामा नगर प्रमुख यादवले बलजबरजस्ती नगरसभा गर्न खोज्दा आफुहरु बहिस्कार गर्दै सहभागी नभएको उपप्रमुख जयसवालले बताईन ।
निमित्त प्रमुख प्रशासकीय अधिकृत मुस्ताक आलमले नगरसभा गर्नको लागि आवश्यक तयारी पुरा नभएको भन्दै असोज १५ गते नै नगरसभा स्थगीत भएको सुचना जारी गरेको थियो ।
प्रशासकीय अधिकृत आलमले नगरसभा स्थगीत भएको भनी जारी गरेको सुचना लाई समेत अवज्ञा गर्दै नगर प्रमुख यादवले एकलौटी रुपमा बलजबरजस्ती गरेको नगरसभालाई आफुहरु कुनै पनि हालतमा स्वीकार गर्न नसक्ने उपप्रमुख जयसवालले बताईन ।
४६ जना कार्यपालिका सदस्यहरु मध्ये नगर उपप्रमुख जयसवाल सहित केही कार्यपालिका सदस्यहरु अनुपस्थित भएपनि बहुमत आफनो पक्षमा रहेको दावी गर्दै नगर प्रमुख यादवले बहुमतको आधारमा नगरसभा सम्पन्न गरेको बताएका छन ।
नगरसभाको उदघाटन सत्र कार्यक्रममा उपप्रमुख जयसवाल, निमित्त प्रमुख प्रशासकीय अधिकृत आलम, केही वडा अध्यक्ष र कार्यपालिका सदस्यहरु अनुपस्थित भएका छन ।

error: Content is protected !!