कांग्रेस महाधिवेशनले नेतृत्व मात्रै चयन गर्ने, विधान महाधिवेशन छुट्टै गर्ने

२८ कात्तिक, काठमाडौं ।

मंसिर २४ देखि २६ गतेसम्म काठमाडौंमा हुने नेपाली कांग्रेसको १४ औं महाधिवेशनले नेतृत्व चयन मात्र गर्ने भएको छ । कांग्रेसले पार्टीको नीति तथा कार्यक्रम तय गर्न छुट्टै विधान महाधिवेशन गर्ने निर्णय गरेको छ ।

आइतबार बसेको कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले नेतृत्व चयन र नीति निर्माणका लागि छुट्टाछुट्टै अधिवेशन गर्ने निर्णय गरेको हो । कांग्रेसमा महाधिवेशन नेतृत्व चयनमा मात्रै केन्द्रित भएको र विचारमा छलफल ओझेलमा परेको आरोप लाग्ने गरेको छ ।

16 Push 077 final

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले मंसिर २४ देखि २६ गतेसम्म हुने महाधिवेशनले नेतृत्व चयन गर्ने र नयाँ कार्यसमितिले विधान अधिवेशन बोलाउने प्रस्ताव केन्द्रीय समिति बैठकमा पेश भएको जानकारी दिए ।

उनले भने, ‘महाधिवेशनले नेतृत्व मात्रै चयन गर्‍यो, नीति तथा कार्यक्रममाथि बहस नै भएन भनेर जुन आलोचना भइरहेको छ, त्यसलाई मध्यनजर गरेर अब यो महाधिवेशनले नेतृत्व चयन गर्नेछ भने महाधिवेशनबाट आउने नयाँ कार्यसमितिले विधान अधिवेशन तय गर्ने समझदारी पदाधिकारी र पूर्वपदाधिकारी बैठकमा भएको छ ।’

विधान अधिवेशनले पार्टीको भावी नीति र कार्यक्रम तय गर्नेछ । कांग्रेस केन्द्रीय कार्यसमिति बैठक अहिले सभापति शेरबहादुर देउवा निबास बुढानिलकण्ठमा जारी छ ।