कक्षा १२ को नतिजा सार्वजनिक, ७ हजार ६३ जनाले ल्याए ‘ए’ प्लस
गत भदौ ३० देखि असोज ८ सम्म सञ्चालन भएको कक्षा १२ को परीक्षामा ३ लाख ७४ हजार विद्यार्थी सहभागी भएका थिए।
राष्ट्रिय परीक्षा बोर्ड स्रोतका अनुसार बिहीबार बसेको बोर्ड बैठकमा आज नतिजा सार्वजनिक गर्ने विषयमा सहमती भएको छ।
गत वैशाखमै गरिनुपर्ने कक्षा १२ को परीक्षा कोरोना महामारीका कारण असोजमा सञ्चालन गरिएको थियो। परीक्षा होम सेन्टरमा सञ्चालन गरिएको थियो।
परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माकाअनुसार ३ लाख ७४ हजार १५ परीक्षार्थीमध्ये ७ हजार ६३ जनाले ‘ए’ प्लस ल्याएका छन् । यस्तै, ४८ हजार २ सय ३९ जनाको ग्रेड ‘ए’ आएको छ ।
७० हजार १ जनाले ‘बी’ प्लस र ९९ हजार ५३७ परीक्षार्थीले ‘बी’ ग्रेड ल्याएका छन् । त्यसैगरी ‘सी’ प्लस ल्याउनेको सङ्ख्या ७५ हजार ८८ र ‘सी’ ग्रेड ल्याउनेको सङ्ख्या २४ हजार ५ सय १५ जना रहेको छ ।
राष्ट्रिय परीक्षा बोर्डका अनुसार ‘डी’ प्लस ल्याउने परीक्षार्थी ३ हजार ८७५ रहेका छन् भने ‘डी’ ल्याउने परीक्षार्थी २९६ जना छन् ।
१० हजार ७३ परीक्षार्थीले ‘ई’ ग्रेड ल्याएका छन् ।
परीक्षामा सहभागीमध्ये ४६ जना परीक्षार्थीको सम्पूर्ण विषयको परीक्षा रद्द गरिएको छ भने चार जना परीक्षार्थीलाई आउँदो एक वर्षसम्म बोर्डको कुनै पनि परीक्षामा सहभागी हुन नपाउने गरी कारबाही गरिएको बोर्डले जनाएको छ ।