आसन्न प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनमा बारा निर्वाचन क्षेत्र नं ४ मा नेपाली कांग्रेसका पूर्व महासमिति सदस्य कृष्णव्रत सिंहले उम्मेदवारी घोषणा गरेका छन् । ३ दशकदेखि निरन्तर कांग्रेसको राजनीतिमा सक्रिय सिंहले मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनमा क्षेत्र नं ४ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
२०४९ सालमा तत्कालीन भवानीपुर जीतपुर गाविसका अध्यक्ष रहेका सिंह २०७४ को स्थानीय तह निर्वाचनमा जीतपुर सिमरा उपमहानगरको नगरप्रमुख पदमा थोरै मतान्तरले पराजित भएका थिए । गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा नगर प्रमुखको दावी गरेका सिहंले गठबन्धनको तर्फवाट माओवादी केन्द्रका राजन पौडेललाई सहयोग गरेका थिए ।
‘नगरमा गुमेको अवसर पार्टीले मलाई संघमा दिनुपर्यो भन्ने मेरो दावी हो’ रातोपाटीसँगको कुराकानीमा सिंहले भने–‘उमेरले पनि ६ दशक नाघिसके यदि म असक्षम छु, अयोग्य, भ्रष्ट्राचारी छु भने पार्टीले भन्न सक्नुपर्यो तर सक्षम छु भने मलाई पनि अवसर दिनुपर्यो ।’
सिंह बाराका पुराना प्रभावशाली नेता हुन् । तर,पछिल्लो समय पार्टी भित्रैको गुटबन्दीका कारण उनी ओझेलमा परेका छन् । बारा निर्वाचन क्षेत्र नं ४ मा २०५६ पछि भएका निर्वाचनमा कांग्रेसले एकपटक मात्रै निर्वाचन जितेको छ । कांग्रेसका महामन्त्री तथा पूर्व श्रम तथा रोजगार मन्त्री फरमुल्लाह मन्सुरले बाराको निर्वाचन क्षेत्र नं ३ र ४ वाट मात्रै ६ पटकसम्म उम्मेदवार भएका थिए । जसमध्ये ४ मा १ र क्षेत्र नं ३ मा १ पटक मात्रै निर्वाचित भए ।
‘पार्टीले इमान्दारीपूर्वक निर्णय गर्यो भने मैले चुनाव सजिलोसँग जित्छु’ सिंहले भने–‘म भन्दा राम्रो चुनाव जित्नसक्ने उम्मेदवार छ भने पार्टीले ल्याओस्, तर दावी गर्ने अधिकार त सबैको छ नि, यो क्षेत्रमा सबैभन्दा उपयुक्त उम्मेदवार को छ निर्णय गरोस् न पार्टीले’ ।
जिल्लाको ४ वटा संघीय निर्वाचन क्षेत्रमध्ये क्षेत्र नं ४ सबैभन्दा महत्वपूर्ण मानिन्छ । पथलैया–वीरगञ्ज औधोगिक करिडोरसँग जोडिएको सबैभन्दा धेरै राजस्व बुझाउने, सबैभन्दा धेरै विद्युत् खपत गर्ने ठुला उद्योगहरु यसै निर्वाचन क्षेत्रमा पर्दछन् । औधोगिक करिडोरका कारण श्रम र रोजगारीसँग जोडिएर धेरै अवसरहरू यो निर्वाचन क्षेत्रमा रहेका छन् । कांग्रेसबाट उम्मेदवारीको घोषणा गरेका सिहंले मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा ३० हजार बढी मत ल्याएर विजयी हुने दावी गरेका छन् ।
सिंहलाई टिकट पाउनै मुस्किल
तनहुँ क्षेत्र नं १ का संघीय सांसद कृष्णकुमार श्रेष्ठ ९किसान० ले अगामी निर्वाचनका लागि बारा क्षेत्र नं ४ लाई दोस्रो विकल्पको रुपमा राखेका छन् । २०७४ को निर्वाचनमा श्रेष्ठसँग पराजित भएका कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँ क्षेत्र नं १ मा उम्मेदवारी दिने घोषणा गरेपछि श्रेष्ठले आफु निर्वाचित क्षेत्र छोड्नुपर्ने देखिन्छ । तर, श्रेष्ठले आफ्नो पहिलो दावी तनहुँ क्षेत्र नं १ नै भएको टिप्पणी गर्दै आएका छन् ।
यता, लोसपा गठबन्धनभित्र जाँदा क्षेत्र नं ४ मा बहालवाला संघीय सांसद एकवाल मियाँको पनि दावी उत्तिकै देखिन्छ । लोसपा गठबन्धन भित्र समावेश भए मियाँ र श्रेष्ठमध्ये एकको टिकट पाउने सम्भावना अधिक छ । तर लोसपा गठबन्धन बाहिर भए गठबन्धनको उम्मेदवार, लोसपा र नेकपा एमालेका उम्मेदवारबीच त्रिपक्षीय प्रतिष्पर्धा हुने सिंह बताउँछन् ।
यस्तो अवस्थामा गठबन्धनवाट कांग्रेस नेता सिंहलाई टिकट पाउन सजिलो भने छैन । कांग्रेस वरिष्ठ नेता पौडेललाई समानुपातिकमा व्यवस्थापन गर्न सके श्रेष्ठले तनहुँबाट नै टिकट पाउने सम्भावना रहन्छ । यस्तो अवस्थामा पार्टीभित्र गुटवन्दी नभए बारा क्षेत्र नं ४ मा कांग्रेस नेता सिंहले प्रवल सम्भावना रहेको छ ।
यदि लोसपासँग गठबन्धन भएन भने यहाँ त्रिपक्षीय प्रतिष्पर्धा हुन्छ । काँग्रेस, एमाले र लोसपाबीच’ सिंहले आफुले कति राम्रो काम गर्छु भनेर हेर्न पार्टीलाई एकपटक अवसर दिएर हेर्न चुनौती दिएका छन् । ‘म कस्तो काम गर्छु एकपटक पार्टीले अवसर दिएर हेरोस्, सबैभन्दा पहिला त अवसर पाउनुपर्यो नि, मलाई कामै गर्न अवसर नै नदिई म कस्तो मान्छे हो भन्ने कसरी थाहा हुन्छ ।’
बारा निर्वाचन क्षेत्र नं ४ मा पछिल्लो ५ वर्षमा थपिएका सहित करिव ९५ हजार मतदाता रहेका छन् । सो क्षेत्रमा विजयी हुन उम्मेदवारले ३० हजार बढी मत ल्याउनुपर्दछ । जिल्लाको १६ वटा पालिकामध्ये जीतपुरसिमरा, परवानीपुर, प्रसौनी, फेटा, विश्रामपुर र कलैया उपमहानगरको एउटा वडासहित ३८ वटा यसै निर्वाचन क्षेत्रमा पर्दछ ।
यो निर्वाचन क्षेत्रमा २०७४ को निर्वाचनमा तत्कालीन राष्ट्रिय जनता पार्टीका एकवाल मियाँले वाम गठबन्धनका उम्मेदवार देवनारायण चौधरीलाई एक हजार ६ सय ६८ मतान्तरले पराजित गरेका थिए । सभार रातो पाटी
पुरानाे समाचार