भारतको पूर्वी राज्य बिहारमा चट्याङ लागेर १७ जनाको ज्यान गयो

बौधिमाई-
रौतहट, भदौ १९ गते ।
भारतको पूर्वी राज्य बिहारमा चट्याङ लागेर सत्र जनाको ज्यान गएको छ । सरकारी प्रसारण संस्था अल इन्डिया रेडियोका अनुसार गएको २४ घण्टामा राज्यका ६ वटा जिल्लामा मेघगर्जन र चट्याङसहित भारी वर्षा भएको तथा खेतमा काम गरिरहेका १७ जना किसानको चट्याङ लागेर ज्यान गएको हो ।

गया जिल्लामा तीन जना बालबालिकासहित पाँच जना तथा भोजपुर, औरङ्गबाद, जेहेनाबाद, कैमुर र रोहतास जिल्लामा १२ जनाले ज्यान गुमाएका अल इन्डिया रेडियोले जनाएको छ । गएको जुन र जुलाईमा पनि बिहार राज्यमा चट्याङ लागेर ६० जनाको ज्यान गएको थियो । प्रत्येक वर्ष वर्षायाममा चट्याङ लागेर सयौँको ज्यान जाने गरेको छ ।

16 Push 077 final

आउँदो पाँच दिनसम्म उत्तर–पूर्वी भारत र बिहार, झारखन्ड तथा सिक्किमसहित पश्चिम बङ्गालको पहाडी क्षेत्रमा ठूलो पानी पर्ने पूर्वानुमान मौसम विभागले गरेको छ । यसैबीच बिहारका मुख्यमन्त्री नीतिश कुमारले चट्याङ लागेर ज्यान गुमाएकाहरूका परिवारजनप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारलाई भारू चार लाख राहतस्वरूप उपलब्ध गराइने घोषणा गर्नुभएको छ ।