रौतहटको खत्वहिया स्थित तरहारी खोलाको पुल निर्माण नहुँदा स्थानीयलाई सास्ती

ओम प्रकाश यादव । असोज १ गते, रौतहट ।
रौतहटको गुजरा नगरपालिका वडा नं ६ खत्वहिया स्थित तरहारी नदिको अधुरो पुल समयमा निर्माण नहुँदा स्थानयिहरुलाई सास्ती खेप्नु परेको छ ।
खत्वहिया–कटहरिया जोडने सो नदिको पुल लामो समयसम्म निर्माण सम्पन्न नहुँदा बर्खाको समयमा स्थानीयले सास्ती भोग्नुपरेको छ ।
गुजरा नगरपालिकाको खत्वहिया र कटहरिया नगरपालिकाको छेदी चौक बजार जोडने उक्त तरहारी खोलामा विगत ४ वर्षअघि नै पुल निर्माणको काम शुरु गरिएको थियो । झण्डै ९ करोड रुपैयाको लागतमा निर्माण हुने भनिएको सो पुलको तत्कालिन संघिय सरकारका मन्त्री रघुविर महासेठले शिलान्यास गरेका थिए ।
मौलापुर नगरपालिका वडा नम्बर ९ सोनरनियाका पेटी ठेकेदार आश महम्दले दुई वर्षभित्रमा पुल निर्माण कार्य सम्पन्न गर्ने जिम्मा पाएका थिए ।
आर्थिक वर्ष २०७५÷०७६ को योजनाअनुसार उक्त खोलामा दुई वर्षमा सम्पन्न गर्ने गरी पुल निर्माण सुरु गरिएको भए पनि हालसम्म निर्माण सम्पन्न हुन नसक्दा स्थानीयले वर्षेनि सास्ती भोग्नुपरेको स्थानीयवासी बताउँछन् । पुल निर्माण सुरु भएको चार वर्ष बित्न लाग्दासमेत पूर्णता नपाउँदा स्थानीय अक्रोशित बनेका छन् ।
ठेकेदार महम्मदले पुल निर्माण गर्ने जिम्मा पाएको चार वर्षभन्दा बढी दिन भएपनि सो पुल हालसम्म निर्माण सम्पन्न गर्न नसक्दा स्थानीयहरु सास्ती व्यहोर्न बाध्य भएका हुन् ।
ठेकेदार महम्मदले पुल निर्माणको काम बीचमै अलपत्र छाडेर बेपत्ता भएका कारण वर्षोदेखी पुल निर्माण अलपत्र परेको स्थानीयहरुले बताएका छन् । पुलको आधा भाग निर्माण सम्पन्न भए पनि आधा भाग त्यतिकै रहेको छ ।
वर्षात्का समयमा पुल नहुँदा सर्वसाधारणले ठूलो सास्ती बेहोर्नुपरेको गुजरा नगरपालिका–६ निवासी स्थानीय अगुवा जफरुल अन्सारीले बताए ।
सो खोलामा पुल नभएका कारण वर्खायाममा छेदीचौक आउन डुमरीया, पोखरीया हुँदै वैकल्पिक लामो बाटो प्रयोग गर्नुपरेको उनले जानकारी दिए ।
आवागमनको वैकल्पिक व्यवस्था नरहेकाले पुल निर्माण नहुँदासम्म वर्षात्मा खत्वहिया, छेदीचौक क्षेत्रका सर्वसाधारणले सास्ती बेहोर्नु परेको छ ।
पुल निर्माण नहुँदा वर्षात्मा सवारीसाधन आवागमन ठप्प हुने गरेको छ । त्यसैले समयमा पुल निर्माण कार्य सम्पन्न गर्न स्थानीयहरुले सम्बन्धित निकायसँग माग गरेका छन् ।

error: Content is protected !!