सिरहामा शिक्षिकाको लापरबाहीका कारण एक विद्यार्थीको मृत्यु

पुस २४ गते सिरहा । सिरहामा शिक्षिकाको लापरबाहीका कारण एक विद्यार्थीको मृत्यु भएको छ ।
जिल्लाको मिर्चैया नगरपालिका ६ स्थित सगरमाथा माविमा कक्षा ८ मा अध्ययनरत छात्रा १५ वर्षीया सिर्जना कुमारी महराको मृत्यु भएको हो ।
शुक्रबार पेट दुखेपछि सिर्जनाले औषधि खान पानी मागेकी थिइन् । शिक्षिका अम्बिका लम्सालले पानी भनेर झुक्किएर स्प्रिट दिएको र त्यो खाएपछि सिरहा नगरपालिका ११ भलुवाहीकी सिर्जनाको मृत्यु भएको जानकारी आएको प्रहरीले जनाएको छ ।
विद्यार्थीलाई उपचारका लागि तत्कालै कर्जन्हास्थित फुलकुमारी महतो मेमोरियल अस्पताल लगिएकोमा उपचारको क्रममा शनिबार साँझ मृत्यु भएको छ ।
शिक्षिकाको लापरबाहीले मृत्यु भएको भन्दै बिहानैदेखि विद्यार्थीहरु पूर्वपश्चिम राजमार्ग अवरुद्ध गर्दै आन्दोलनमा उत्रेका छन् ।
आज बिहानै १० बजेबाटै मिर्चैयास्थित पूर्वपश्चिम राजमार्ग उनीहरु अवरुद्ध पारेका छन् । उनीहरुले ईलाका प्रहरी कार्यालय मिर्चैया माथि ढुंगामुढा समेत गरेका छन् । आन्दोलनमा उत्रेका विद्यार्थी र स्थानीयले प्रहरीको टोलीमाथि नै ढुंगामुढा गर्न थालेपछि हवाइफायर गर्नुपरेको सिरहाका प्रहरी प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक डिएसपी सुवास बुढाथोकीले जानकारी दिए । उनका अनुसार प्रहरीले ६ राउण्ड हवाई फायर र ३ राउण्ड आश्रुग्यास प्रहार गरेका छन् ।

16 Push 077 final