बाराको सिमानास्थित दशगजा क्षेत्रबाट हत्या गरिएको अवस्थामा पुरुष शव फेला

बौधिमाई खबर, असोज ०८ गते रौतहट ।
बारा जिल्लामा नेपाल – भारत सिमानास्थित दशगजा क्षेत्रबाट हत्या गरिएको अवस्थामा एक जना पुरुष शव भेटिएको भएको छ ।
सोमबार बिहान जिल्लाको पचरौता नगरपालिका – १ को नेपाल – भारत सिमानास्थित दशगजा क्षेत्रबाट धारिलो हतियार प्रहारबाट हत्या गरेर फालिएको अवस्थामा स्थानीय ३३ वर्षीय अमरेश कुमार सिंहको शव भेटिएको हो ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुरेश प्रसाद काफ्लेका अनुसार मृतक सिंहको शरीरमा पछाडिबाट धारिलो हतियारको प्रहारबाट लागेको चोटपटक देखिएको छ ।
मृतक सिंह पूर्व प्रहरी समेत हुन् । उनी सशस्त्र प्रहरी बल र नेपालको सशस्त्र प्रहरीमा पाँच वर्ष जवानका रूपमा कार्यरत थिए । केही महिना अगाडि मात्रै उनले जागिर छोडेको एसपी काफ्लेले जानकारी दिए ।
स्थानीयहरूका अनुसार जागिर छोडेपछि सिंहले केही महिना भारतको बरहर्वा र नेपालको पिपरपाती नाकामा रक्सी पसल सञ्चालन गरेका थिए । यद्यपि केही समय अघि मात्रै उनले रक्सी पसल पनि बन्द गरे । उनी हाल गाउँमै खेतीपाती गर्दै आएका थिए ।
प्रहरीले उनको हत्यामा संलग्न रहेको आशङ्कामा दुई जनालाई नियन्त्रणमा समेत लिएको छ । ‘तिन जनाले मिलेर उनको हत्या गरेको बुझिएको छ । हामीले दुई जनालाई नियन्त्रणमा लिइसकेका छौँ । तेस्रो व्यक्तिको खोजी कार्य जारी छ,’ एसपी काफ्लेले भने, ‘के कारणले हत्या गरेको हो भन्ने अहिलेसम्म पनि खुल्न सकेको छैन ।’ पक्राउ पर्नेमा भारतीय नागरिकहरू राहुल साह र सामलाल महतो रहेको उनले जानकारी दिए ।
सिंहको हत्या अभियोगमा पक्राउ परेका भारतीय नागरिक राहुल साहले दशगजाको नेपाल तर्फ रक्सी पसल सञ्चालन गर्दै आएको र केही दिन पहिला सिंहसँग झगडा समेत भएको अनुसन्धानबाट खुलेको प्रहरी स्रोतले जनाएको छ । सभार : यात्रा डेली

error: Content is protected !!