सशस्त्र प्रहरी बल नेपाल नं. १२ गण, हे.क्वा बारा, सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण, हे.क्वा पर्सा एवं जिल्ला प्रहरी कार्यालय बारा र पर्सा मतहतमा रहेको सीमावर्ती क्षेत्रका प्रहरी चौकीलाई प्रभावमा पारेर शत्रुघ्न नामक व्यक्तिको तस्करी धन्दा यतिखेर फस्टाएको छ ।
भारतसँग सीमा जोडिएको बाराको छतवा, बलरामपुर, मुसहर्वालगायतका सबै नाकामा भारतीय क्षेत्रमा कपडाको गाँठ भित्र्याउन तयारी अवस्थामा राख्ने र नेपाल तर्फबाट सिग्नल पाउने बित्तिकै नेपाल भित्र ल्याएर पिकअपमा लोड गरेर वीरगंज स्थित ट्रान्सपोर्ट मार्फत काठमाण्डौ पठाउने गरेका छन् भने कैयौंचोटी पिकअपमै लोड गरेर नक्कली बिल बनाई हेटौडासम्म डेलिभरि दिने गरेको स्रोतले जनाएको छ ।
शत्रुघ्न मात्र हैन अन्होती र सुरेन्द्र नामका तस्करले पनि दैनिक लाखौं मूल्य बराबरको राजश्व चुहावट हुने गरी करोडौं मूल्यका सर्टिङ, सुटिङलगायत कपडाको गाँठ, हार्डवेयर मात्र नभई ती नाकाहरूबाट सशस्त्र र नेपाल प्रहरीकै सहयोगमा तस्करी भइरहँदा भन्सार राजश्व असुली घट्दो अवस्थामा छ ।
तस्करहरूले बलरामपुर र मुसहर्वा क्षेत्रबाट तस्करी गरी ल्याइने सामान पिकअपमा लोड गरी कुनै दिन नेशनल मेडिकल कलेज, बसपार्क नगवा पोखरी नजिकको हनुमान मन्दिर र बाबा होटल हुँदै रेलवे रोडमा रहेको ट्रान्सपोर्टसम्म पुर्याउने गरेका छन् भने कुनै दिन बाराको प्रसौनी आसपासमा रहेको गोदाममा भण्डार गरी त्यहाँबाट नक्कली बिल भर्पाई बनाई पार्टीसम्म पुर्याउने गरेका छन् ।
बाराको बलरामपुर, मुसहर्वा, छतवा, र पर्साको इनर्वा गाउँ, नगवा प्रहरी चौकी तथा बसपार्क चौकी यतिबेला तस्करहरूप्रति लचिलो भएपछि ती नाकाहरूबाट शत्रुघ्न मात्रको नभई अन्होती, सुरेन्द्रलगायत कयौं तस्करहरूले समेत काजु, हार्डवेयर, कपडा, खाद्यान्न, चिनी लगायतका सामग्रीको तस्करी कार्यलाई तीव्रताका साथ अघि बठाएको स्रोतले दाबी गरेको छ ।