विजुलीको खम्बामा आगलागि हुँदा गौरमा इन्टरनेट सवा अवरुद्ध
रौतहट, २९ साउन । रौतहट सदरमुकाम गौरको कर्मचारी मिलन केन्द्र र रामजानकी मन्दीरको बीचमा रहेका विजुलीको खम्बामा आगलागि हुँदा गौरमा डिजिटल प्रविधि इन्टरनेट सेवा अवरुद्ध भएका छन् ।
गौर नगरपालिका वडा नम्वर ५ स्थित मुख्य सडकमा कर्मचारी मिलनकेन्द्र र राम मन्दीरको बीचमा रहेका विजुलीका खम्बामा मंगलवार दिउसो १२.१५ बजेको समयमा अकस्मात आगो सल्किएर आगलागि हुँदा विभिन्न सेवा प्रदायक इन्टरनेटका वायरहरु जलेर क्षतिग्रस्त भएको हुँदा नेट सेवा अवरुद्ध भएका हुन् ।
उक्त विजुलीको खम्वा भएर गएका वल्ड लिंक, सुविसु, नेपाल टेलिकम लगायतका विभिन्न सेवा प्रदायक इन्टरनेटका सेवाहरु अवरुद्ध भएको बताइएको छ । अवरुद्ध भएका सेवाहरु सूचारु गर्न ति सेवा प्रदायकका प्राविधिक टोलीले मर्मत गर्ने कार्य जारी राखेका छन् ।
विजुलीको खम्बामा आगलागि हुँना साथ स्थानीय बासिन्दाहरुले गौर नगरपालिकामा खवर गरेपछि तत्कालै बारुण यन्त्र आएर आगोलाई निभाएका थिए । आगलागिबाट के कतिको क्षति भएको सम्बन्धमा आवश्यक अनुसन्धान भईरहेको तथा सो क्षेत्रका विजुली सेवा समेत प्रभावित भएका छन् ।