रौतहटको फतुवा बिजयपुर नगरपालिकामा जनप्रतिनिधिहरू बीचको विवादले नगर सभा अन्योलमा

सागर संगम ठाकुर रौतहट असोज १२ गते

रौतहटको फतुवा बिजयपुर नगरपालिकामा जनप्रतिनिधिहरू बीचको आपसी तालमेलको अभावले नगर सभा अन्योलमा परेको छ।
असार १० भित्र नगर सभा सम्पन्न गर्नुपर्ने प्रावधान भए पनि हालसम्म नगर सभा नगरी जनप्रतिनिधिहरूमा नेतृत्वको कमजोर समन्वयको संकेत देखिएको छ।
यसले गर्दा नगरवासीहरूबीच स्थानीय सरकारप्रति विश्वास कमजोर हुँदै गएको छ भने जनप्रतिनिधिहरूले जिम्मेवारीबाट पन्छिन खोजेको आरोप समेत लागेको छ।
नगरपालिकाका कार्यवाहक नगर प्रमुख अम्बेया खातुनले जिम्मेवारीबाट पन्छिएको कारण नगर सभा अहिले सम्म नहुने अवस्थाले गर्दा नगरका वडाध्यक्षहरू समेत असन्तुष्ट बनेका छन्।
एक वडाध्यक्षका अनुसार प्रमुखको नेतृत्वको अभावमा नगरपालिकाका दैनिक प्रशासनिक कार्यहरू ठप्प भएका छन्।
यसमा विशेषगरी कर्मचारीहरूको तलब रोकिएको, आर्थिक कारोबार अन्योलमा परेको र विकास निर्माणका कामहरू प्रभावित भएका छन्।
असोज १४ गते नगर सभा सम्पन्न गर्ने निर्णय भएपनि, बिहीबार बोलाइएको बैठकमा मेयर खातुनले नगर सभाको मिति सारेर असोज ३० गते राख्नुपर्ने प्रस्ताव राखिन्।
यसपछि वडाध्यक्षहरू असोज ३० गतेका लागि तयार भएको बताएका छन्।
तथापि, बैठकका क्रममा विवाद उत्पन्न भयो जब मेयरले मौखिक रूपमा मिति तोक्दै बाहिरिन खोजिन्।
वडाध्यक्षहरूले भने बैठक फिक्स गरेर, साईन गरेर मात्र बाहिरिन आग्रह गरे, जसले गर्दा विवाद चुलियो।
विवाद बढ्दै गएपछि बैठक तनावपूर्ण वातावरणमा परिणत भयो। मेयर खातुन र वडाध्यक्षहरूबीच तीव्र असन्तुष्टि देखिएको थियो।
नगर प्रमुख र वडाध्यक्षहरूबीचको विवादले नगरपालिकाका कामकाज प्रभावित भएपछि स्थानीय बासिन्दाहरू पनि आक्रोशित बनेका छन्।
स्थानीयहरूले मेयर खातुनको सरकारी गाडी इलाका प्रहरी कार्यालय बिजयपुरमा बुझाएका छन्।
त्यसपछि प्रमुख प्रशासकीय अधिकृतको प्रयोगमा रहेको गाडी समेत प्रहरी परिसरमा बुझाइएको छ।
साथै, केही वडाध्यक्षहरूको गाडी पनि स्थानीयहरूद्वारा नियन्त्रणमा लिइएको र बिजयपुर प्रहरी कार्यालयमा राखिएको छ।
यो घटना पछि नगरपालिकामा थप तनाव बढेको छ, जसले गर्दा नगरवासीहरूबीच असन्तोषको लहर फैलिएको छ।

error: Content is protected !!