कमला नदीमा अनौठो भूत मेला
रबिन्द्र प्रजापति,रौतहट । कार्तिक ३० गते ।
धनुषा र सिराहाको सीमा भएर बग्ने कमला नदीमा आज अनौठो भूत मेल लागेको छ । कात्तिक पूर्णिमाको अवसरमा प्रत्येक वर्ष लाग्ने यस भूत मेलामा एकाबिहानैदेखि कमला स्नान गर्ने श्रद्धालुहरुको घुइँचो लागेको छ ।
यो मेला भर्न रौतहट, बारा, पर्सा, सर्लाही, महोत्तरी, धनुषा, सिरहा, सप्तरीसहित परोसी देश भारतबाट समेत ट्याक्टर, बस, जीप जस्ता सवारीसाधनमा श्रद्धालुहरु आउने गर्दछन् ।
बिहीवार साँझ घरबाट धामी झाँक्रीसहित हिँडेका विभिन्न गाउँवासी सिराहा र धनुषाको सिमानामा पर्ने कमलाको विभिन्न घाटमा पुगि पुजापाठ सहित कार्तिक स्नान गरेका छन् ।
कमलामा कात्तिक शुक्ल पूर्णिमाको दिन भूत बैताल, देवी देवताहरुको गुहान गर्दा त्यसबाट छुटकारा पाउने रौतहट जिल्काको कटहरिया नगरपालिका वडा नम्बर ५ का धामी शेवख यादवले बताए ।
रौतहट र सर्लाहीका अन्य केही ठाउँमा पनि कात्तिक स्नान मेला लाग्दै आएको छ । केही दिनदेखि रौतहट र सर्लाहीमा अत्यधिक चिसो बढेको भए पनि नदीमा नुहाउने श्रद्धालुहरुको संख्यामा कुनै कमी देखिएको छैन ।
कमला नदी मात्र न भई रौतहट र सर्लाही भएर बग्ने बागमती नदीमा पनी भुत मेला लागेको छ । श्रद्धालुहरु सहित धामी झाँक्रीहरुले बागमती नदीमा पुगी कार्तिक स्नान गरेका छन ।
धामी झाँक्रीहरुले भूत र घरको कुल देवता खेल्दै आजको दिन अर्थात् कात्तिक शुक्ल पूर्णिमाको दिन स्नान गर्ने सदियौँको परम्परा भएको सर्वसाधारण बताउँछन् ।
यो मेलालाई धामी झाँक्रीको मेला पनि भनिन्छ । आजका दिन नयाँ-नयाँ धामी झाँक्री बन्ने तथा तन्त्रमन्त्रमा सिद्ध पाउने जनविश्वास रहेको छ ।
सर्वसाधारणहरु पनि आजका दिन कमला स्नान गरे दु:ख कलेस पापबाट मुक्त हुने विश्वास रहेको छ । अहिले कमला नदीमा लाखौंलाखको संख्यमा श्रद्धालुहरुको भीड लागेको छ ।
भूत मेलामा स्नान गरेपछि घर आउने बेलामा भक्तजनहरुले कमला नदीको शुद्ध पानी आ-आफ्नो घर लैजाने गर्छन् । उक्त पानीलाई जमिन छर्केर पूजाका लागि शुद्ध पार्न प्रयोगमा ल्याइने धामी झाँक्रीहरु बताउँछन् ।