चन्द्रनिगापुरको होटेल वेलकममा यौनजन्य गतिविधि हुँदै
बौद्धिमाई न्यूज डेक्स
मंसिर १३ गते रौतहट ।
रौतहटको चन्द्रनिगापुरस्थित पूर्वपश्चिम राजमार्गको होटेल वेलकम यतिबेला विवादको केन्द्र बनेको छ। स्थानीय बासिन्दाहरूले लामो समयदेखि होटेलमा यौनजन्य गतिविधि हुँदै आएको आरोप समेत लगाएका छन्। गुनासो अनुसार, सो होटेलमा नाबालिक किशोरीहरूको समेत प्रयोग गरी अवैध यौन धन्दा सञ्चालन भइरहेको समाचार श्रोतले जनाएको छ ।
एक विशेष छानबिन टोलीले होटेलका सञ्चालकसँग प्रत्यक्ष संवाद गर्दा, होटेलमा प्रति ग्राहक १,५०० रुपैयाँ शुल्क लिएर यौन सेवा प्रदान गरिने गरेको खुलासा भएको समाचार श्रोतले जनाएको छ ।
सञ्चालकले खुलेआम यौन धन्दाको विषय स्वीकारेपछि स्थानीय बासिन्दाहरूको आक्रोश झन् चुलिएको हो । स्थानीयले यस्ता गतिविधिले समाजमा गलत प्रभाव पार्ने र युवापुस्तालाई अपराध तर्फ धकेल्ने भन्दै होटेल तत्काल बन्द गर्न र सञ्चालकलाई कारबाही गर्न माग गरेका छन् । यस विषयमा प्रहरीले हालसम्म ठोस कदम नचालेको स्थानीयको गुनासो हरेको छ ।
पहिले होराइजन होटलको नामले चिनिने यो होटेलले केही समयअघि नाम परिवर्तन गरी ‘वेलकम’ राखेको थियो। नाम परिवर्तन सहित व्यवसायको स्वरूप पनि सुधारिएको भ्रम सिर्जना गरिएको भए पनि अवैध गतिविधि रोकिएको छैन । यस्ता घटनाले स्थानीय समाजमा नैतिकता र संस्कारमा गम्भीर असर पार्ने स्पष्ट छ । तर, सम्बन्धित निकायले कानूनी प्रक्रिया अघि बढाउन ढिलाइ गर्दा अवैध कार्य झन् मौलाएको छ ।
समाज सुधारका लागि प्रहरी प्रशासनले यस्ता होटलहरूमा निगरानी बढाउँदै कडा कारबाही गर्नुपर्ने देखिन्छ। स्थानीयले मात्र आवाज उठाएर यस्ता गतिविधि रोक्न नसकिने हुँदा सामूहिक पहल अपरिहार्य छ । यस क्षेत्रमा यस्ता अवैध गतिविधि निरन्तर भइरहनु समाजका लागि घातक हो। स्थानीयको चासो र मागलाई सम्बोधन गर्दै सम्बन्धित निकायले तत्कालै कडा कदम चाल्नु आवश्यक रहेको देखिन्छ।