
माघ २५ गते । वीरगञ्ज ।
पर्सामा जारी एचपीभी खोप अभियानमा खटिएका स्वास्थ्यकर्मीलाई गालीगलौज गर्दै हातपात गर्ने दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेहरूमा पोखरिया नगरपालिका-१, बनकटवाका ३५ वर्षीय प्रमोद पटेल र ३५ वर्षीय मन्जय गिरी रहेका छन् । हाल उनीहरूलाई इलाका प्रहरी कार्यालय पोखरियाको हिरासतमा राखिएको छ ।
स्वास्थ्य कार्यालय पर्साका अनुसार, बिहीबार पोखरिया-१ स्थित आधारभूत स्वास्थ्य केन्द्रमा खोप लगाउन पुगेका प्रमोद पटेलले कक्षा ३ मा अध्ययनरत आफ्नी छोरीलाई खोप लगाउन आग्रह गरेका थिए । तर, खोप केन्द्रका इन्चार्ज तथा अहेब शोशील कुमार महतोले अभियानअन्तर्गत कक्षा ६ देखि १० सम्मका छात्राहरूलाई मात्र खोप प्रदान गरिने जानकारी गराएपछि विवाद उत्पन्न भएको थियो ।
महतोको स्पष्टोक्तिपछि आक्रोशित भएका पटेल र गिरीले उनलाई तथा वडा कार्यालयका सचिवलाई गालीगलौज गर्दै हातपात गरेका थिए । घटनापछि स्वास्थ्यकर्मीले प्रहरीलाई खबर गरेका थिए, जसअनुसार सुरक्षाकर्मीले दुवै जनालाई नियन्त्रणमा लिएको जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले जानकारी दिए ।
ठाकुरले स्वास्थ्यकर्मी र वडा सचिवमाथि भएको हातपात निन्दनीय भएको बताउँदै दोषीलाई प्रचलित कानुनअनुसार कारबाही गर्न माग गरे । उनले दोषीहरूलाई कानुनी दायरामा नल्याइए खोप अभियानमा खटिएका स्वास्थ्यकर्मीको मनोबल गिर्न सक्ने चेतावनी दिए ।
‘स्वास्थ्यकर्मीको सुरक्षामा कुनै सम्झौता हुनु हुँदैन । यदि दोषीहरूलाई कारबाही भएन भने, स्वास्थ्य कार्यालयले माथिल्लो निकायमा पत्राचार गरी आवश्यक कदम उठाउनेछ,’ ठाकुरले भने ।
यसैबिच, जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता, प्रहरी नायब उपरीक्षक (डिएसपी) किशोर लम्सालले पक्राउ परेका दुवै व्यक्तिलाई इलाका प्रहरी कार्यालय पोखरियाको हिरासतमा राखेर अनुसन्धान भइरहेको जानकारी दिए । उनले पीडित पक्षबाट लिखित उजुरी प्राप्त भएपछि कानुनी प्रक्रिया अघि बढाइने बताए । साभार: यात्रा डेली