
१० दिन पछि भेटियो जितपुर सिमराबाट हराइरहेका रौतहटका बालक हन्श चौधरीको शव
माघ २६ गते । बारा ।
बारा जिल्लाको जितपुर सिमराबाट गत बिहीबारदेखि बेपत्ता भएका एक बालकको शव फेला परेको छ । रौतहटको दुर्गा भवानी गाउँपालिका-१ निवासी हन्श चौधरी नामक बालकको शव शनिवार दिउँसो भेटिएको हो ।
वीरगञ्ज र जितपुर सिमराको सिमानामा फेला
इलाका प्रहरी कार्यालय सिमराकी प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) सुभद्रा वाइबाले बालकको शव भेटिएको पुष्टि गरेकी छन् । उनका अनुसार वीरगञ्ज महानगरपालिका–३२ र जितपुरसिमरा उपमहानगरपालिका–७ को सिमानामा पर्ने टेढामा पर्ने कियासोती खोलामा डुबेको अवस्थामा शव फेला परेको हो ।
प्रहरीले तालिम प्राप्त कुकुरको प्रयोग
बालकको खोजी गर्न बारा प्रहरीले तालिम प्राप्त कुकुरको समेत प्रयोग गरेको थियो। खोजी कार्यमा स्थानीयवासी, प्रहरी र विभिन्न सङ्घसंस्थाको समेत सहकार्य रहेको थियो । घटनाले स्थानीय समुदायमा ठूलो शोक र त्रासको वातावरण सिर्जना गरेको छ । प्रहरीले घटनाको विस्तृत अनुसन्धान अघि बढाइसकेको छ ।
परिवार र स्थानीयको पहल
हराएका बालकको खोजीका लागि परिवारले एक लाख रुपैयाँ इनाम घोषणा गरेको थियो । त्यस्तै, बारा क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य तथा पूर्व मन्त्री कृष्ण कुमार श्रेष्ठ (किसान) ले बालकको अवस्थाबारे सूचना दिने वा खोजीमा सहयोग गर्ने व्यक्तिलाई ५१ हजार रुपैयाँ इनाम दिने घोषणा गरेका थिए ।