गरुडाका हस्पिटलहरुमा मुख्यमन्त्रीको अनुगमन पक्षपात वा स्टन्टबाजी ? यि हस्पिटलहरुमा किन गरेन अनुगमन

रमेश कुमार यादब
चैत १૪ गते । रौतहट ।
रौतहट जिल्लाको गरुडा नगरपालिकामा स्वास्थ्य सेवा प्रदान गर्ने विभिन्न निजी अस्पतालहरूको संख्यामा वृद्धि हुँदै गएसँगै, तीमध्ये कति अस्पताल कानूनअनुसार दर्ता भएका छन् र कति नियम मिचेर सञ्चालनमा छन् भन्ने विषयले चासो लिएको छ ।

यसै क्रममा, गत फाल्गुन २२ गते मधेश प्रदेशका मुख्यमन्त्री सतिश सिंहले गरुडा र शिवनगर क्षेत्रमा सञ्चालित विभिन्न अस्पतालहरूको अनुगमन गरेका थिए । मुख्यमन्त्री सिंहको अनुगमनपछि १० वटा अस्पताल अवैध रुपमा सञ्चालन भइरहेको पाइएको थियो ।

तिनले स्वास्थ्य सेवा प्रदायकका लागि आवश्यक मापदण्ड पूरा
नगरेकाले तत्काल अस्पताल बन्द गर्न पत्र थमाई निर्देशन दिइएको थियो ।

बन्द गर्न भनिएका अस्पतालहरूमा गरुडा नगरपालिका(५ शिवनगरमा रहेको आनन्द अस्पताल एक्यूपन्चर सेन्टर प्रालि, गरुडा नगरपालिका–४ गरुडामा रहेको अनामिका हस्पिटल, रोमा हस्पिटल, सरस्वती हस्पिटल, सन सिटी हस्पिटल, गरुडा अस्पताल प्रालि, नेत्र ज्योति, होप हस्पिटल लगाएतका हस्पिटल बन्द गर्न मुख्यमन्त्री सिंहले निर्देशन दिएका थिए ।।

यद्यपि, मुख्यमन्त्री सिंहले केही अस्पताल मात्र अनुगमन गरी बन्द गर्ने निर्देशन दिएको भन्दै चौतर्फी आलोचना भइरहेको छ । गरुडामा सञ्चालन भइरहेका अन्य निजी अस्पतालहरू जस्तै ग्रान्डी हस्पिटल (झाझपुल), बेटर नेपाल मल्टिस्पेसियालिटी हस्पिटल (गरुडा), प्रकाशजित आई हस्पिटल (शिवनगर) लगायतका अस्पतालहरूमा अनुगमन नै नगरी चुपचाप बस्नुले अनेकौं शंका उठाएको स्थानीयहरूले बताएका छन् ।।

केही स्थानिय नागरिक तथा चिकित्सकहरूका अनुसार मुख्यमन्त्री सिंहले आर्थिक चलखेलकै कारण केही अस्पतालहरूलाई जोगाएको हुनसक्ने दाबी गरेका छन् । अनुगमन गर्नु वा नगर्नु पूर्ण रूपमा मुख्यमन्त्रीको इच्छामा निर्भर छ भन्ने चर्चा समेत स्थानीय स्तरमा चल्न थालेको छ ।
स्थानिय चिकित्सकहरूका अनुसार, मुख्यमन्त्री सतिश सिंहले अनुगमन गर्दा पक्षपात गरेको देखिन्छ ।

अनुगमनका क्रममा कतिपय अस्पताललाई कारबाही गर्ने र कतिपयलाई वेवास्ता गर्ने प्रवृत्ति देखिएको छ । यो कार्य नियतवश गरिएको हो कि पैसाको चलखेलका कारण यस्तो भएको हो भन्ने विषयमा पनि स्थानीय तहमा बहस चल्न थालेको छ । कतिपय अस्पतालका संचालकहरुले मुख्यमन्त्री सिंहले अस्पतालहरूलाई बन्द गर्ने निर्णय गर्दा अरूलाई भने अनुगमनको सूचीमा राखिएको छैन ।

यसले गर्दा सर्वत्र अनियमितता, घुसखोरी तथा प्रभावशाली व्यक्तिहरूको संलग्नताको आशंका गरिएको छ । वहाँहरुले भने, अनुगमनका क्रममा नजिकै रहेको केहि अस्पतालहरुलाई चेकजाच गर्दा त्यहि नजिक रहेको केहि अस्पताललाई छोडयो भने प्रश्न उठन थालेका छन ।

मुख्यमन्त्री सिंहले किन केही अस्पताल मात्र छानियो ? अन्य अस्पतालहरूको अवस्था कस्तो छ ? यी प्रश्नहरूले जनस्तरमा मुख्यमन्त्री सिंहमाथि नै शंका उब्जाएको छ । स्थानीय स्वास्थ्यकर्मीहरूका अनुसार, गरुडा क्षेत्रका केही प्रभावशाली व्यक्तिहरू अस्पताल व्यवसायमा आबद्ध छन्, जसले अनुगमन प्रक्रियालाई प्रभाव पार्न सक्ने सम्भावना रहन्छ ।

यस विषयमा सम्बन्धित निकायहरूले निष्पक्ष छानबिन गरी सबै अस्पतालहरूको अवस्था सार्वजनिक गर्नुपर्ने आवाज उठिरहेको छ । यदि अवैध रुपमा सञ्चालन भएका अस्पतालहरू बन्द गरिनु आवश्यक छ भने, सबै अस्पतालहरूको समान मापदण्डका आधारमा निरीक्षण हुनु पर्ने माग अन्य हस्पिटलका संचालकहरुले गरेका छन् ।मुख्यमन्त्री सिंहको पछिल्लो निर्णयको विरोध गर्दै केही अस्पताल सञ्चालकहरू कानुनी लडाइँमा जाने तयारीमा रहेको समेत बुझिएको छ ।

अब हेर्न बाँकी छ, मुख्यमन्त्री सिंहले सबै अस्पतालहरूलाई एउटै कानुनी दायरामा ल्याउन कदम चाल्छन् कि पक्षपातपूर्ण निर्णयमै अडिग रहन्छन ? कि अनुगमन केवल राजनीतिक प्रचारका लागि गरिएको हो भने यसले भ्रष्टाचार तथा चिकित्सा क्षेत्रमा अनियमिततालाई झनै बढावा दिने स्थानीयहरूको भनाइ छ ।

अब हेर्न बाँकी छ, मुख्यमन्त्री सिंहले बाँकी अस्पतालहरूमा पनि निष्पक्ष रूपमा अनुगमन गर्नेछन् कि यो केवल प्रचारमुखी स्टन्टबाजी मात्रै थियो ।