
काठमाडौँको तीनकुनेमा शुक्रवारको हिंसामा संलग्न १२२ जना पक्राउ
चैत १६ गते । रौतहट ।
काठमाडौँको तीनकुनेमा शुक्रवार अराजकतापूर्ण गतिविधि गर्ने राजावादी समूह र दलका कार्यकर्तालाई शनिवार पनि पक्राउ गरिएको छ ।
सुरक्षा संयन्त्रले राजावादीको हिंसात्मक गतिविधिलाई सिसिटिभी फुटेजको आधारमा निगरानी गर्दै पक्राउ गरेको हो ।
सिसिटिभी फुटेजको निगरानीका आधारमा शनिवार दिउँसोसम्म १२२ जनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी विश्व अधिकारीले जानकारी दिए । उनीहरूलाई कोटेश्वर, बालकुमारी, तीनकुनेसहितका स्थानबाट नियन्त्रणमा लिइएको हो ।
भीडलाई भड्काउने, तोडफोड गर्ने समूहका मान्छेलाई खोज्ने काममा प्रहरी जुटेको छ । थप अनुसन्धानका लागि सादा पोसाकमा ७० जना प्रहरी परिचालन गरिएको छ ।
शुक्रवार हिंसात्मक घटना गराउन दुर्गा प्रसाईँ संलग्न रहेको भन्दै प्रहरीले उनको खोजी तीव्र पारेको छ । काठमाडौँ, ललितपुर र भक्तपुरबाट सादा पोसाकका डेढ सय प्रहरी परिचालन गरेर उनको खोजी भइरहेको हो ।
तीनकुनेमा भीडलाई भड्काउने क्रममा प्रसाईँले आफैँ गाडी हाँकेका थिए । प्रहरीमाथि नै गाडी कुदाउन खोज्ने, निषेधित क्षेत्रमा आन्दोलनकारीलाई उतार्ने हरकत प्रसाईँले गरेका थिए । भीडलाई उत्तेजित बनाएपछि प्रसाईँ कार्यक्रम स्थल छोडेर भागेका थिए ।
कोटेश्वरबाट इमाडोलमा अन्तिम लोकेशन देखिएका प्रसाईँको खोजी कार्य जारी राखेको प्रहरीले जनाएको छ ।
भीडलाई अराजक बनाएको आरोपमा शुक्रवार राति नै प्रहरीले राप्रपा उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणालाई पक्राउ गरेको थियो ।
तर शुक्रवारको घटनाका कमान्डर दुर्गालाई समाउन आइजिपी दीपक थापाले निर्देशन दिइसकेका छन् । भारत छिर्न सक्ने आकलनमा सीमा नाकामा पनि कडाइ गरिएको छ ।
विपक्षी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितका नेताले शुक्रवारको भीडलाई उत्तेजित र अराजक बनाउनमा पूर्वराजा ज्ञानेन्द्र शाहको भूमिका रहेको आरोप लगाएका छन् । उनलाई कारबाही गर्ने गरी अगाडि बढ्नुपर्ने उनको माग छ ।
सरकारले पनि पूर्व राजाका गतिविधिलाई नियाल्दै उनको राहदानी रद्द गर्नेसम्मको तयारी गरेको उच्च सरकारी स्रोतले जनाएको छ ।