वीरगञ्जमा शोभा यात्रा माथि आक्रमण, झडप हुँदा एसपीसहित दर्जनौँ घाइते, कर्फ्यु आदेश जारी, गोली चल्यो

चैत ३० गते वीरगञ्ज । वीरगञ्जमा शनिवार हनुमान जन्मोत्सवको अवसरमा आयोजित शोभा यात्राका क्रममा दुई फरक समुदायबिच भएको हिंसात्मक झडपले सहर तनावग्रस्त बनेको छ ।
छपकैया क्षेत्रमा शोभा यात्रा पुग्दा सानो विवादले उग्र रूप लिँदा व्यापक तोडफोड, आगजनी र झडप भएको छ । स्थिति नियन्त्रणबाहिर गएपछि स्थानीय प्रशासनले शनिवार साँझ साढे ७ बजेदेखि आइतबार दिउँसो १२ बजेसम्म वीरगञ्ज सहरी क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ ।
झडपमा प्रहरी र स्थानीय गरी कम्तीमा ४० जना घाइते भएका छन् भने ठूलो परिमाणमा सम्पत्ति नष्ट भएको छ ।

प्रहरीतर्फ पर्साका प्रहरीका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्र, सशस्त्र प्रहरी बल नम्बर १३ गण हेडक्वार्टर पर्साका प्रवक्ता, प्रहरी नायब उपरीक्षक (डिएसपी) देवेन्द्र सिंहसहित २५ जना घाइते भएको बुझिएको छ । प्रदर्शनकारीतर्फ १५ जना घाइते भएको पर्साका प्रमुख जिल्ला अधिकारी (सिडिओ) गणेश अर्यालले जानकारी दिए । घाइतेहरूको वीरगञ्जस्थित नारायणी अस्पताल, गण्डक अस्पताल र अन्य निजी अस्पतालमा उपचार भइरहेको उनले बताए ।

सिडिओ अर्यालले शनिवार दिउँसो घण्टाघर चोकबाट हनुमान जन्मोत्सवको शोभा यात्रा सुरु भएको जनाए । शोभा यात्राले नगर परिक्रमा गर्ने क्रममा छपकैयाको श्रीराम हल नजिक पुग्दा अपराह्नतिर विवाद उत्पन्न भएको थियो । शोभा यात्रामा सहभागी एक व्यक्तिले बोकेको “जय श्रीराम” लेखिएको झन्डालाई एक अपरिचित युवाले खोस्ने प्रयास गरेपछि दुई समूहबिच तनाव सुरु भएको सिडिओ अर्यालले बताएका छन् ।
अर्कोतर्फ शोभा यात्रामा सहभागीहरूले छपकैयाको इदगाह चोकमा शोभा यात्रा पुगेपछि त्यहाँ रहेको एउटा भवनबाट अचानक ढुंगामुढा प्रहार भएपछि स्थित बिग्रिएको बताएका छन् । “शान्तिपूर्ण तरिकाले जारी शोभा यात्रामाथि अचानक ढुंगा चल्न थाल्यो । त्यसपछि स्थिति तनावपूर्ण बन्यो,” हिन्दु अभियन्ता रञ्जन सिंह राजपूतले भने ।
स्थानीय प्रत्यक्षदर्शीका अनुसार सानो घटनाले चाँडै नै ठूलो रूप लिएको थियो । दुवै पक्षबाट ढुंगामुढा सुरु भएपछि शोभा यात्रा अवरुद्ध भएको थियो । विवादले उग्र रूप लिँदा छपकैया क्षेत्रमा रहेका दुई बिरयानी पसल, तीन वटा मासु पसल, एक औषधि पसल र केही निजी घरहरूमा समेत तोडफोड भएको थियो ।
आक्रोशित भीडले बिरयानी पसलका फर्निचर, फ्रिज, चुल्हो, काउन्टरलगायतका सामान सडकमा ल्याएर आगजनी गरेका थिए भने कम्तीमा आठ मोटरसाइकलमा पनि आगो लगाएको स्थानीयहरूले बताएका छन् ।
स्थिति नियन्त्रण गर्न प्रहरीले सुरुमा लाठीचार्ज गरेको थियो । तर, भीड झन् आक्रामक बनेपछि प्रहरीले अश्रुग्याँस र हवाई फायरको सहारा लिनुपरेको स्थानीय प्रशासनले जनाएको छ । सिडिओ अर्यालका अनुसार प्रहरीले १३० राउन्ड अश्रुग्याँस र दुई राउन्ड हवाई फायर प्रहार गरेको छ । छपकैयाको इदगाह चोकमा साँझ ८ बजेसम्म पनि प्रहरी र स्थानीयबिच झडप जारी रहेको थियो । अहिले स्थिति नियन्त्रणमा आएको बुझिएको छ ।
“प्रहरीको प्रयासले स्थिति नियन्त्रणमा नआएपछि हामीले बेलुकी साढे ७ बजे कर्फ्यु आदेश जारी गर्‍यौँ । त्यसपछि नेपाली सेना परिचालन गरियो,” सिडिओ अर्यालले भने । सेना सडकमा आएपछि राति ९ बजेपछि स्थिति बिस्तारै सामान्य बन्दै गएको उनले बताए । कर्फ्यु भेडियाही चोक (पूर्व), गण्डक चोक (उत्तर), सिर्सिया चोक (पश्चिम) र शङ्कराचार्य गेट (दक्षिण) को चार किल्ला तोकेर लागू गरिएको उनले जानकारी दिए ।
कर्फ्यु कार्यान्वयनका क्रममा वीरगञ्जको इनर्वा क्षेत्रमा प्रहरीले गोली चलाउँदा स्थानीय हरेन्द्र राउत अहिर घाइते भएका छन् । उनको बायाँ हातमा गोली लागेको नारायणी अस्पतालको आकस्मिक कक्षका चिकित्सकले पुष्टि गरेका छन् । राउतको अस्पतालमा उपचार भइरहेको छ । गोली चलेको विषयमा जानकारी लिन खोज्दा जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) किशोर लम्सालसँग सम्पर्क हुन सकेन ।
तोडफोड र आगजनीबाट छपकैया क्षेत्रका व्यवसायीहरूलाई लाखौँको क्षति भएको प्रारम्भिक अनुमान छ ।
सिडिओ अर्यालले शान्ति कायम गर्न सबै पक्षलाई संयमित रहन आग्रह गरेका छन् । “हामीले स्थिति नियन्त्रणमा लिइसकेका छौँ । अब कसैले पनि उत्तेजक गतिविधि नगर्न अनुरोध छ,” उनले भने । उनले घटनाको निष्पक्ष छानबिन हुने र दोषीमाथि कारबाही हुने प्रतिबद्धता जनाएका छन् ।
यसैबिच, सामाजिक सञ्जालमा घटनाले व्यापक चर्चा पाएको छ । कतिपयले शान्तिपूर्ण शोभा यात्रामाथि आक्रमण भएको भन्दै आक्रोश व्यक्त गरेका छन् भने कतिपयले साम्प्रदायिक तनाव भड्काउने प्रयास भएको भन्दै चिन्ता जनाएका छन् ।
हिन्दु समाजले भने सुनियोजित ढंगले शोभा यात्रामाथि आक्रमण भएको जनाएको छ । शनिवार साँझ पत्रकार सम्मेलनको आयोजना गर्दै हिन्दु समाजले शान्तिपूर्ण ढंगले अगाडि बढिरहेको शोभा यात्रामाथि ढुंगामुढा प्रहार गरेर हिन्दुहरूमाथि आक्रमण गर्न खोजिएको आरोप लगाएको हो । हिन्दु अगुवा अभिषेक तिवारीले घटनाको निष्पक्ष छानबिन गर्दै दोषीहरूमाथि कडा कारबाही गर्न माग गरेका छन् ।
वीरगञ्ज सांस्कृतिक र धार्मिक विविधताले समृद्ध सहर हो । यहाँ हिन्दु, मुस्लिम, सिख, जैनलगायत विभिन्न समुदायको बसोबास छ । यस्ता धार्मिक शोभा यात्राहरू विगतमा शान्तिपूर्ण रूपमा सम्पन्न हुँदै आएका थिए । तर, पछिल्ला वर्षहरूमा सामाजिक सञ्जाल र भ्रामक प्रचारका कारण यस्ता घटनाहरू छिटपुट रूपमा देखिन थालेका छन् ।