
डिभिजन वन कार्यालय रौतहट अन्तर्गतको वन व्यापक फडानी
बौधिमाई, १९ गते रौतहट ।
डिभिजन वन कार्यालय रौतहटका प्रमुखकै मिलोमतोमा व्यापक वन फँडानी भएको आरोप लागेको छ । गत एक महिनामा रौतहटमा पाँच बिघा भन्दा बढी क्षेत्रफलको वनक्षेत्र पूर्णतयाः फँडानी भएको छ भने वनक्षेत्रमा हजारौं रुख कटान गरिएका छन् ।
चन्द्रपुर नगरपालिकाको गैंडाटार क्षेत्रमा वन कार्यालयकै मिलोमतोमा व्यापक वन फँडानी भइरहेको वन जंगल संरक्षण अभियान नेपालका राष्ट्रिय संयोजक सुनिलकुमार यादवले आरोप लगाए ।
गत एक महिनाभन्दा केही समय अघिदेखि गैंडाटार वन क्षेत्रमा व्यापक रुख कटान भएको बताउँदै संयोजक यादवले पाँच बिघा जति क्षेत्रफलको वन सम्पूर्णतः फँडानी गरिएको आरोप लगाए ।

डिभिजन वन कार्यालय रौतहटका डिभिजनल वन अधिकृत हेमन्त प्रसाद साहकै मिलोमतोमा गैंडाटारमा वन क्षेत्र फँडानी गरिएको र फँडानी भई खाली भएको जमिनमा वृक्षरोपण गरिएको आरोप संयोजक यादवको छ । घटना ढाकछोप गर्न खाली जमिनमा वृक्षारोपण गरिएको संयोजक यादवको भनाइ छ ।
वन क्षेत्लको खाली जमिनलाई अतिक्रमणबाट जोगाउन वृक्षरोपण गरिएको डिभिजन वन कार्यालयले जनाएको थियो । तर वन अधिकृत साहकै मिलोमतोमा गैंडाटारका साथै अन्य वनक्षेत्रमा पनि व्यापक रुख कटानी भएको यादवको दाबी छ ।
मधेश प्रदेशका वनमन्त्रीलाई चुनौती दिँदै यादवले भने, ‘रौतहटको वनमा भइरहेको व्यापक फँडानीको निरीक्षण गर्न मधेश प्रदेशका मुख्यमन्त्री र वन मन्त्रीलाई चुनौती दिन्छु ।’
रौतहटको वनक्षेत्रमा भइरहेको व्यापक फँडानीमा मधेश प्रदेशको वन मन्त्रालय तथा वन मन्त्रीको पनि संलग्नता रहेको संयोजक यादवले आशंका व्यक्त गरे।
रौतहटको वन क्षेत्रमा व्यापक मात्नामा भइरहेको फँडानी तथा रुख कटानको विषयमा वन मन्त्रालय, सरोकारवाला निकाय तथा वन मन्त्रीसमेतलाई जानकारी हुँदाहुँदै पनि घटनालाई आलटाल गर्ने र ढाकछोप गर्ने काम भइरहेको प्रति संयोजक यादवले आपत्ति जनाए ।
रौतहटका वन अधिकृत साहले विगतमा पनि वन क्षेत्र व्यापक फँडानी गरेर इतिहास कायम गरेको आरोप संयोजक यादवको छ। केही
वर्ष पहिले महोत्तरीमा वन प्रमुख हुँदा रम्तेल डाँडाको वन क्षेत्र फँडानी गरेको र यो आरोपमा साह निलम्बितसमेत भएको संयोजक यादवको दाबी छ । निलम्बन फुकुवा भएपछि जिम्मेवारीमा आएका वन अधिकृत साहले अहिले पनि वन फँडानी गराइरहेको यादवको भनाइ छ ।
डिभिजन वन कार्यालय, वन अधिकृत साह र वन माफियाको मिलोमतोमा वन क्षेत्रमा रुख कटान गरी साइकलमा रुख ढुवानी गर्नेको संख्यामा वृद्धि भएको संयोजक यादवको भनाइ छ ।
वन क्षेलबाट साइकलमा काठ ढुवानी गर्नेले एक हजारदेखि एक हजार पाँच सय रुपैयाँसम्म वन कर्मचारीलाई बुझाउने गरेको संयोजक यादवको आरोप छ।
अहिले पनि वन क्षेत्रमा रुख कटान भइरहेको बताउँदै संयोजक यादवले जंगलमा रुख काटेर माटो र पातपतिंगरले छोपेको तथा रुख काटेर खाली भएको जमिनलाई जोतेर मकै छरिएको पनि पाइएको बताए ।
डिभिजन वन कार्यालय रौतहटका प्रमुख साहले अतिक्रम भएको जग्गा आफूहरूले नियन्त्रणमा लिइसकेको बताए । बाहिर आएको कुरा गलत रहेको उनको भनाइ छ । फोटो: फाइल